मेलम्ची आयोजनाको 'हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकियो

-नोटबजार संवाददाता।
काठमाडौं।
३०भाद्र, २०७७, मंगलवार / Sep 15, 2020 15:56:pm

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झण्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढीरहेको हो ।

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडबक्स’ निर्माणसमेत अघि बढिरहेको छ ।

निर्धारित अवधि आगामी वैशाखसम्ममा निर्माण सम्पन्न भइसक्ने खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । उनले भने, “यही गतिमा काम भइरहँदा समयमै सकिने देखिन्छ ।” सुरुङ निर्माण सकिएर परीक्षणका क्रममा दुर्घटना भएपछि अहिले यसको गेटमा रहेको त्रुटि सच्याउने काम भइरहेको छ ।

आगामी मङ्सिर, पुससम्ममा त्रुटि सच्याउने काम सकिएर पुनः सुरुङको परीक्षण हुने उनले बताए । सो समयमा पनि ‘हेडबक्स’ निर्माण नसकिने हुँदा अस्थायी बाँधबाट नै पानी पठाइनेछ । परीक्षणका लागि र नियमित पानी पठाउन केही समयसम्म अस्थायी बाँधबाटै पथान्तरण हुने बताइएको छ । उनले भने, “हेडबक्स सकिएपछि मात्रै त्यसबाट पठाइनेछ ।”

दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाका अन्तिम काम भइरहेको छ । आयोजनामा यसअघि काम गरेको इटालियन निर्माण कम्पनी सिएमसिले आयोजना अलपत्र छाडेर गएपछि सरकारले गत वर्ष असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनामा यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments