ग्रीनलाइफ हाइड्रोको आईपीओ भर्नुअघि जान्नुहोस् कम्पनीको विस्तृत विवरण

-नोटबजार संवाददाता।
काठमाडौ ।
२३माघ, २०७७, शुक्रबार / Feb 05, 2021 07:31:am

ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले माघ २३ गते शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पननीले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ मूल्य बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रकाशन गरेको विवरणपत्र अनुसार कुल निष्काशित शेयरमध्ये दुई प्रतिशतले हुन आउने ६९ हजार ९२८ कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने १ लाख ७४ हजार ८२० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर खरीदका लागि सर्वसाधारणहरुबाट आवेदन माग गरिएको छ ।

कम्पनीको प्रवन्धपत्र र नियमावली अनुसार जारी पूँजीको २० प्रतिशत शेयर मध्ये सञ्चालक समितिको निर्णय अनुसार उद्योग प्रभावित क्षेत्र (आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीय) मा स्थायी बसोवास गर्ने बासिन्दाहरुलाई लगायत कर्मचारी निष्काशन तथा बिक्री वितरण गरिसकेको छ । स्थानीयबाट अवितरित शेयर सहित बाँकी शेयर सर्वसाधारणमा निष्काशन गरिएको हो ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । कम्पनीले यसअघि सानिमा क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गर्दै सम्झौता समेत गरिसकेको छ ।

शेयर रजिष्ट्रारसम्बन्धी सम्झौतापत्रमा ग्रीन लाइफका तर्फबाट अध्यक्ष याङ्चेन डोमा लामा र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।

  • कहाँबाट दिने आवेदन ?

ग्रीन लाइफको साधारण शेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका अलवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयरको वेव पोर्टल तथा मोेबाइल एपबाट पनि आईपीओमा आवेदन दिन सकिन्छ ।

  • माघ २७ गतेसम्म दिन सकिन्छ आवेदन

ग्रीन लाइफको आईपीओमा लगानीकर्ताले माघ २२ गतेदेखि छिटोमा माघ २७ गतेसम्म र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

निष्काशित सबै शेयरको लागि पहिलो चरणमा माग नभएको खण्डमा मात्र ढिलो मितिसम्म निष्काशन खुला हुनेछ भने सम्पूर्ण शेयरका लागि माग भएमा भने छिटो मितिमा नै सार्वजनिक निष्काशन बन्द हुनेछ । शेयर बिक्री नभएमा भने आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको कम्पनीले जानकारी दिएको छ ।

  • कति गर्ने आवेदन ?

कम्पनीले प्रकाशन गरेको विवरणपत्र अनुसारसर्वसाधारण लगानीकर्ताहरुले शेयर खरीदको लागि दरखास्त दिँदा१० अंकले भाग गर्दा शेष जाने गरी न्यूनतम १० कित्ता शेयर वा अधिकतम १लाखकित्ता शेयर खरिद गर्नका लागि निवेदन दिन सकिने व्यवस्था छ। न्यूनतम माग गर्न सक्नेभन्दा बढी शेयरका लागि दरखास्त दिंदा १० अंकले भाग जाने संख्यामा दरखास्त दिनुपर्ने हुन्छ ।

पछिल्लो समय साधारण शेयरमा १५ लाख भन्दा धेरै आवेदकले शेयर आवेदन गर्ने गरेका छन् । पछिल्लो सार्वजनिक निष्कशन नेपाल इन्फ्रास्ट्रक्चरमा साढे १५ लाखको आवेदन परेकोमध्ये १८ लाख ८१ हजार २८४ वटा आवेदन सदर भएकोमा ६ हजार २७६ रद्ध भई १४ लाख ७५ हजार ८ जनाले शेयर पाएका थिए ।

पछिल्लो समय आईपीओमा अधिक आकर्षण रहेकोले आईपीओ शेयर पाउने भाग्यको भर पर्नुपर्ने अवस्था छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड गर्दा ग्रीन लाइफको आईपीओ ३ लाख २५ हजार १६५ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् । यीमध्ये २ जनाले भने ११ कित्ताका दरले शेयर पाउने देखिन्छ । यस आईपीओमा पनि १५ लाख आवेदक पुगेको खण्डमा ११ लाख ७५ हजार जनाले शेयर पाउँदैनन् । त्यसैले यो निष्काशनमा पनि प्रतिशेयर एक सय रुपैयाँका दरले १० कित्ताका लागि १ हजार रुपैयाँको आवेदन नै प्रयाप्त देखिन्छ ।

गोलाप्रथाबाट कुल आवेदकको २० प्रतिशत आवेदकले मात्र आईपीओ शेयर पाउने र बाँकी ८० प्रतिशत हाराहारीको आवेदकको हात खाली हुने भएकाले एक हजार रुपैयाँभन्दा धेरैको आवेदन यस निष्काशनमा आवश्यक देखिँदैन ।

  • ग्रीन लाइफ हाइड्रोपावरको बारेमा

ग्रीन लाइफ कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६६ साल असोज ४ गते नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीन लाइफ इनर्जी प्रालिका रुपमा दर्ता भएको थियो। यो कम्पनी २०७४ असार ९ गतेदेखि पब्लीक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो। पब्लीक लिमिटेड कम्पनीमा परिणत भएपश्चात कम्पनीको नाम परिवर्तन भई “ग्रीनलाईफ हाईड्रोपावरलिमिटेड”रहन गएको हो ।

कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडकम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्ला, का.म.न.पा २८, कमलपोखरीमा अवस्थित रहेको छ ।

कम्पनीले आवश्यकतानुसार सम्बन्धित निकायको स्वीकृत लिई नेपाल राज्य भरी जुनसुकै स्थानमा कम्पनीको शाखा, उपशाखा तथा सम्पर्क कार्यालय विस्तार गर्न सक्नेछ ।कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँऊपालीका साविकको खारे र मार्बु गा.वि.स.मा ४० मेगावाट क्षमताकोखानीखोला–१ आयोजनामा जलविद्युत उत्पादन केन्द्र (आयोजना) सञ्चालन गरिरहेको छ।

कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति मिति २०६८ बैशाख २८ गते प्राप्त गरेको र सो अनुमतिपत्रको बाहाल अवधि २०६८ बैशाख २८ गते देखि २१०३ बैशाख २७ गतेसम्म रहने छ ।यसअनुसार अब २६वर्ष बाँकी रहेको छ ।

  • ‘केयर एनपी बी प्लस (आईएस)’ रेटिङ्ग, वित्तिय दायित्व पूरा गर्न उच्च जोखिममा

धितोपत्र बोर्डको हरेक सार्वजनिक निष्काशन गर्नुपुर्व क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्था बमोजिम यस कम्पनीले पनि क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालबाट गराएको छ ।



केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस (आईएस)’ रेटिङ्ग प्रदान गरेको छ । यस क्रेडिट रेटिङ्गले निष्काशनकर्ता वित्तिय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ । सो रेटिङ्गको बहाल अवधि रेटिङ्ग प्राप्त भएको मिति (नोभेम्बर २६, २०२०) बाट १ वर्ष (नोभेम्बर २५, २०२१) सम्म रहेको छ ।

 

  • प्रभु क्यापिटल प्रत्याभूतिकर्ता

प्रभु क्यापिटल प्रत्याभूतिकर्ता प्रभु क्यापिटल रहेको छ । क्यापिटलले निष्काशित सबै शेयर (३४ लाख ९६ हजार ४०० कित्ता) शेयरहरुको लागि प्रत्याभूति सेवा प्रदान गरेको छ ।प्रत्याभूति सेवा प्रदान गरे बापत कम्पनीले १७ लाख ४८ हजार २०० रुपैयाँ प्रदान गर्नेछ ।शेयर प्रत्याभूति सम्झौताको समयावधिसम्झौता भएको मितिले १ वर्षसम्म हुने उल्लेख छ ।

सम्झौताको ब्याख्यामा वा कार्यान्वयनमा मत भिन्नता भएमा वा विवाद उत्पन्न भएमा दुबै पक्षको सहकार्यमा विवाद निरोपण गरिनेछ । सो बाट बिबाद निरोपण नभएमा नेपाल धितोपत्र बोर्डको ऐन, नियम तथा प्रचलित कानूनको परिधीभित्र रही सबै पक्षको आपसी सहमतीमा विवादको समाधान गरिने जनाइएको छ ।

  • प्रतिमेगावाट लागत १९ करोड १३ लाख

कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको खानीखोला १ जलविद्युत आयोजनाको आयोजनाको कुल लागत७अर्ब ६५करोड ३८ लाख ९० हजार ७८४ अनुमानित गरिएको छ । यसअनुसार लागत प्रति मेगावाट करिब १९करोड १३लाख४७हजार२७० रहेको छ ।

कम्पनीको जलविद्युत आयोजना खानीखोला–१, प्रदेश नं. ३, दोलखाजिल्लाको गौरीशंकर गाँउपालीका साविकको खारे र मार्बु गा.वि.स.मा रहेको खानी खोला, हनापु खोला र नाप्के खोलामा निर्माणको अन्तिम चरणमा पुगेको छ।हनापु खोला र नाप्के खोलाको आयोजना सम्पन्न गर्न करिब १ अर्ब ४६करोड थप लाग्ने अनुमान गरिएकोछ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १७.८९ वर्ष रहेको छ ।



कम्पनीले प्रदेश नं. ३,दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीन खारे तथा मार्बु गा.वि.स.) मा बहने खानीखोला, हनापु खोला रनाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरी ४० हजार किलोवाट क्षमताको जलविद्युत आयोजनाबाट विजुली उत्पादन गरी उद्देश्य अनुरुप २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरणले व्यापारिक उत्पादन शुरु हुने मिति देखि हरेक महिना कम्पनीले आयोजनाबाट उत्पादन गरी उपलब्धगराएको (पहिलो आयोजना २५,००० किलोवाट) को कन्ट्रयाक्ट इनर्जीको परिमाणसम्मको उर्जा खरिदवापत बर्षा याममा प्रति कि.वा.४ रुपैयाँ र सुख्खा याममा प्रति कि.वा.७ रुपैयाँका दरले भुक्तानी दिनेछ । साथैव्यापारीक उत्पादन शरु हुने मिति पर्ने आर्थिक वर्षलाई आधार मानी त्यसपछिको प्रत्येक आर्थिक वर्षको लागि ३ प्रतिशतका दरले ९ (नौ) पटकसम्म मुल्य वृद्धि दिई विद्युत उर्जा खरिद दर कायम गरिएको छ ।

यस्तै थप हुनजाने १५ हजार किलोवाट क्षमता अनुसारको थप कन्ट्रयाक्ट इनर्जीको हकमा बर्षा याममा प्रति कि.वा.४.८० रुपैयाँ र सुख्खा याममा प्रति कि.वा.८.४० का दरले हुन आउने रकम कम्पनी वा दफा ३७ अनुसारको अगुवा बैंक वा वित्तीय संस्थालाई बुझाउनेछ । साथै व्यापारीक उत्पादन शुरु हुने मितिबाट एक बर्ष पुगेको महिनाको लगत्तै पछिको महिनादेखि लागू हुने गरी प्रत्येक आर्थिक वर्षको लागी ३ प्रतिशतका दरले ८ (आठ) पटक सम्म मुल्य वृद्धि दिई विद्युत उर्जा खरिद दर कायम गरिएको छ ।

कम्पनीबाट उत्पादन गरिएको सवै विद्युत शक्ति एकमुष्ट नेपाल विद्युत प्राधिकरणले खरिद गर्न मन्जुर गरी कम्पनी र प्राधिकरण बीच २०६८ साल भाद्र १९ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई उक्त विद्युत खरिद बिक्री सम्झौतामा समयानुकुल संशोधन गर्दै मिति २०७५ फाल्गुन ३०मा सातौं संशोधन भएको छ ।साथै उक्त व्यापारीक उत्पादन शुरु गर्नुपर्ने मितिलाई विद्युत खरीद बिक्री सम्झौतामा संशोधन गरि २०७७/०९/१६बनाउनको लागि नेपाल विद्युत प्राधिकरण व्यवस्थापन समक्ष सिफारीस गर्ने निर्णय मिति २०७७ असोज २३गतेको समन्वयसमितिको बैठकबाट पारित गरेको छ ।
आयोजनाबाटप्राप्त हुने आयमा १० वर्ष सम्म आयकर छुट तथा सो पश्चात्५ वर्षको लागि ५० प्रतिशत आयकर छुट प्रदान गरिएको छ ।कम्पनीले आगामी ५ वर्ष सम्मको लागि थप कर्जा नलिने योजना बनाएको छ ।

  • आईपीओ रकमको सदुपयोग कहाँ ?

कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्दा प्राप्त रकम कम्पनीको आवश्यकता अनुसार प्रचलित नियमको अधिनमा रहि प्रयोग गर्ने जनाएको छ ।
कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माण तथा विकासका लागि बैंकसँग सम्झौता भई लिएको ऋण चुक्ता गर्न पूँजी संकलन यस निष्काशनको मुख्य उद्देश्य रहेको छ ।

सर्वसाधारणका निमित्त शेयर निष्काशन गरि प्राप्त रकम कम्पनीको खानीखोला १ जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुने कार्य अन्तिम चरणमा पुगेको हुनाले बाँकी संरचना निर्माण गर्न तथा बैंकबाट लिइएको कर्जा चुक्ता गर्न प्रयोग गर्ने उद्देश्यले धितोपत्र जारी गर्न लागिएको कम्पनीले जनाएको छ ।

जसअन्तर्गत ३४ करोड ७४ लाख ४० हजार रुपैयाँछोटो अवधिको कर्जा भुक्तानी गर्ने र २२ लाख रुपैयाँ अन्य दायित्व भुक्तानी गर्ने कम्पनीको योजना छ । प्राईम कमर्शियल बैंक लि. र सिटिजन्स बैंक इन्टरनेशनल लि. बाट छोटो अवधि (डिमान्ड लोन) को लागि लिएको १७करोड ७८ लाख मध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुबाट संकलन भएको १ करोड ३ लाख ६० हजार बाट कर्जा भुक्तानी गरिसकेको छ । बाँकी रहेको १६ करोड ७४लाख ४० हजार तथा पूनः प्राईम कमर्शियल बैंक लि. बाट ९ करोडको डिमान्ड लोन र कामना सेवा विकास बैंक बाट ९ करोडको ब्रिज ग्याप लोन स्वीकृत भई जम्मा ३४ करोड ७४लाख ४० हजार बराबरको छोटो अवधिको कर्जा रहेकोमा उक्त कर्जा यस विवरण पत्र मार्फत सर्वसाधारणमा निष्कासन गरि प्राप्त भएको रकम बाट कर्जा भुक्तानी गर्न उपभोग गरिने उल्लेख गरिएको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेडको अगुवाईमा विभिन्न ९ वटा बैंक तथा वित्तिय संस्थाह?बाट सह वित्तीयकरण ऋण प्राप्त गरी आयोजना निर्माण भइरहेको छ । आयोजनामा प्राइम, नबिल, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स, नेपाल, सिद्धार्थ, सेञ्चुरी, सिभिल, कामना सेवा र ज्योति विकास बैंक गरी दश बैंकले ऋण प्रवाह गरेका हुन् ।

२०७७ असार मसान्तसम्म ३ अर्ब ६४ करोड १७ लाख ९३ हजार रुपैयाँ कर्जा भुक्तानी गर्न बाँकी छ ।

  • पूँजी संरचना

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७४ चैत २१ गते अद्यावधिक भएको पूँजी संरचना अनुसार हाल कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड र जारी पूँजी १ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

जारी पूँजीमध्ये हाल संस्थापक समूहबाट ८० प्रतिशतले हुन आउने चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ चुक्ता रहेको छ ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाका र सर्वसाधारणका लागि साधारण शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब८० करोड रुपैयाँ पुग्नेछ ।

  • आधारभुत शेयरधनी र सञ्चालक

कम्पनीको नियमावलीको नियम २७ मा देहाय बमोजिमका ९ जनाको सञ्चालक सदस्य रहेको सञ्चालक समिति हुने व्यवस्था रहेको छ । जसमध्ये संस्थापक समुहबाट ५ जना र सर्वसाधारण शेयरधनीहरुबाट २ जना तथा स्वतन्त्र विशेषज्ञ२ जना रहेको छ ।

सञ्चालक हुनका लागि कुनै पनि शेयरधनीले आफ्नो नाममा कम्तीमा १०० कित्ता शेयर लिएको हुनुपर्ने तर स्वतन्त्र संचालक र संगठित संस्था वा व्यवस्थापन ठेकेदारको प्रतिनिधित्व गर्ने सञ्चालकको हकमा यो व्यवस्था लागूनहुने उल्लेख छ ।

कम्पनीमाललितपुरवडा न. ४ बस्ने वर्ष ६३की अध्यक्ष श्रीमती याङचेन डोमा लामा, ग्रीनलाइफ इन्भेष्टमेन्ट कम्पनी प्रा.लि र कञ्चनजंगा इन्भेष्टमेन्ट कम्पनी प्रा.लि आधारभुत शेयरधनी रहेका छन् ।

कञ्चनजंगा कार्पेट तथा टेक्टटाइल र २०६५ देखि हालसम्म हाइड्रोपावर क्षेत्रमा संलग्न आधारभुत शेयरधनी लामासँग ३७ लाख १८ हजार ४८० कित्ता शेयर स्वामित्व रहेको छ । यस्तै ग्रीनलाइफ इन्भेष्टमेन्ट कम्पनीसँग २३ लाख ४७ हजार २२० कित्ता र कञ्चनजंगा इन्भेष्टमेन्टको २१ लाख २२ हजार रुपैयाँ शेयर स्वामित्व रहेको छ ।

यस्तै सञ्चालकहरुमा याङचेन डोमा लामा, श्रीमती केसाङ्ग डिकी लामा, भुषण थापा, छेतेन वाङ्गेल खाङकर लामा, धर्मेन्द्र अग्रवाल र तेन्जिङ्ग जम्पे लामा गरी ६ जना सञ्चालक रहेका छन् । सबैजसो सञ्चालकहरु हाइड्रोपावरमा अनुभव रहेका छन् ।

संस्थामा कम्पनीको प्रमुखको रुपमा कम्पनी संचालन र व्यवस्थापन गर्ने कार्यका लागि तेन्जिङ्ग जम्पे लामाप्रबन्ध सञ्चालक रहेका छन् भने भुषण थापा र केसाङ्ग डिकी लामा सञ्चालक छिन् । संसथामा १३ जना स्थायी कर्मचारी कार्यरत रहेको विवरणपत्रमा उल्लेख छ । कम्पनीमा रविन तुलाधरले प्रमुख लेखा अधिकृतको जिम्वेवारी सम्हालेका छन् भने नमिता दाहाल प्रशाशनिक प्रबन्धकको रुपमा कार्यरत छिन् ।

  • वास्तविक र प्रक्षेपित आम्दानी तथा नेटवर्थ

आयोजना निमार्णको चरणमा नै रहेकाले गत आर्थिक वर्ष २०७६।७७ मा कम्पनीको आम्दानी रहेको छैन । आव २०७६।७७ मा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९.६७ रुपैयाँको रहेको छ ।

चालु आव २०७७।७८ मा२ करोड ३७ लाख ४६ हजार रुपैयाँ नोक्सानी व्यहोर्ने आंकलन गरेको कम्पनीको प्रतिशेयर आम्दानी १.४१ रुपैयाँ ऋणात्मक हुने अनुमान छ । यस अवधिमा कम्पनीप्रतिशेयर नेटवर्थ ९८.३३ रुपैयाँ कायम हुने उल्लेख गरिएको छ ।



यस्तै आव २०७८।७९ मा १२ करोड ८८ लाख ७६ हजार रुपैयाँ र आव २०७९।८० मा १५ करोड ८२ लाख ८४ हजार खुद नाफा कमाउने कम्पनीको अनुमान छ । यी वर्षहरुमा प्रतिशेयर आम्दानी क्रमश ७.१६ र ८.७९ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १०५.४९ र ११४.२९ रुपैयाँ रहने प्रक्षेपण छ ।

चालु आवमा प्रतिशेयर नेटपर्थमा १.३४ प्रतिशत ऋणात्मक प्रतिफल प्राप्त गर्ने अनुमान गरेको कम्पनीले आव २०७९।८० मा पुग्दा ७.६९ प्रतिशत नेटवर्थमा औषत प्रतिफल हासिल गर्ने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments