दाबी भुक्तानी मार्गदर्शनको प्रभावकारी कार्यान्वयन नहुँदा भुक्तानी हुन बाँकी रकम बढ्यो
पछिल्लो समय बीमा कम्पनीहरूले दाबी भुक्तानीलाई प्राथमिकतामा राखेको बताउँदै आएपनि भुक्तानी हुन बाँकी दाबी बापतको रकम भने बढी रहेको तथ्यांकले देखाएको छ ।
बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो पार्ने उद्देश्यका साथ दाबी भुक्तानी मार्गदर्शन जारी गरेको भएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कतिपय बीमा कम्पनीको दाबी भुक्तानी प्रक्रिया छिटो छरितो भन्ने नारा नारामै सीमित भएको देखिन्छ ।
निर्जीवन बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी दाबी रकम १४ अर्ब रुपैयाँ बढी छ । चालु आवको पुस मसान्तसम्ममा १८ बीमा कम्पनीले भुक्तानी गर्न बाँकी रहेको रकम १४ अर्ब १५ लाख रुपैयाँ पुगेको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आवको पुस मसान्तसम्ममा कम्पनीहरुमा ७७ हजार ५२२ बीमा दाबी वापत सो बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको हो । गत आवको सोही अवधिमा कम्पनीहरुले ७७ हजार ५२२ बीमा दाबी वापत ११ अर्ब ७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो । गत आवको तुलनामा चालु आवको यसै अवधिमा ३ अर्बभन्दा कम दाबी भुक्तानी भएको हो ।
दाबी भुक्तानीको लागि बीमितको निवेदन प्राप्त भएमा कम्पनीले आवश्यक जाँचबुझ गर्न घटना स्थलमा सर्भेयर खटाउँछन् । उक्त निर्देशिकामा सर्भेयरले कम्पनी समक्ष प्रतिवेदन पेश गरेको साधारणतया ३५ दिनभित्र बीमितलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
जीवन बीमाको भन्दा निर्जीवन बीमाको दाबी भुक्तानीको प्रक्रिया लामो हुने हुनाले कम्पनीहरुमा भुक्तानी गर्नुपर्ने दाबी रकम बढी देखिने बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।
बीमा ऐन २०४९ अनुसार कुनै दुर्घटना भएको जानकारी पाउने बित्तिकै बीमकले सर्भेयर खटाउनुपर्ने व्यवस्था रहेको उनले बताए । सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बीमकको दायित्व निर्धारण गरी बीमक समक्ष प्रतिवेदन पेस गरेपछि ३५ दिनभित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।’ उनले भने ।
निर्जीवन बीमा कम्पनीहरुद्धारा ७ अर्ब भुक्तानी
चालु आवको दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
वित्तीय विवरण सार्वजनिक गरेका १८ बीमा कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ४९ हजार ९५० बीमा दाबी वापत ७ अर्ब ६१ करोड ७० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा २ अर्ब २० करोड रुपैयाँ बढी हो ।
गत आवको सोही अवधिमा कम्पनीहरुले ४५ हजार ४१६ बीमा दाबी वापत ५ अर्ब ४१ करोड ९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेका थिए ।
नोटः तालिकालाई ठूलो बनाउन फोटोलाई क्लिक गर्नुहोस्
हिमालयन जनरल र शिखरको धेरै भुक्तानी
धेरै रकम भुक्तानी गर्ने कम्पनीमा हिमालयन जनरल र शिखर इन्स्योरेन्स रहेका छन् । हिमालयन जनरलले १ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले तीन हजार ६८ बीमा दाबी वापत सो रकम भुक्तानी गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले २ हजार ४ बीमा दाबीवापत १८ करोड १३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो ।
यस्तै शिखर इन्स्योरेन्सले ९ हजार ५५१ बीमा दावी वापत १ अर्ब ८५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ८ हजार ४१८ बीमा दाबीवापत ८६ करोड ६९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो ।
६ कम्पनीको दाबी भुक्तानी रकम घट्यो
कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ६ कम्पनीले दाबी भुक्तानी रकम घटेको छ । प्रुडेन्सियल, एनएलजी, सगरमाथा, जनरल र प्रभु इन्स्योरेन्सको कुल दाबी रकम घटेको हो ।
प्रुडेन्सियलको ३७.१८ प्रतिशत, प्रभुको १९.३३ प्रतिशत, एनएलजीको ४.३७ प्रतिशत, जनरलको ३.२८ प्रतिशत र सगरमाथा इन्स्योरेन्सको २.२४ प्रतिशतले घटेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।