राष्ट्रिय खाद्य बैंक पनि आईपीओ जारी गर्ने योजनामा

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१०फाल्गुन, २०७७, सोमबार / Feb 22, 2021 17:28:pm

राष्ट्रिय खाद्य बैंक लिमिटेडले केही वर्ष भित्र साधारण शेयर अर्थात आईपीओ जारी गर्ने भएको छ ।

४९१ जना प्रमोटर शेयर सदस्यको लगानीमा दुई अर्ब लगानीमा स्थापना भएको यस बैकले कृषि क्षेत्रमा ठूलो लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, राज्यको “सम्मृद्ध नेपाल, सुखी नेपाली” को अभियानलाई सहयोग गर्ने उदेश्यलाई पूरा गर्न सर्वसाधारणमा शेयर जारी गर्ने लागेको जनाएको हो ।

बैंकको मुलभुत उदेश्य, कार्य र अभियानबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष शंकरनाथ उप्रेतीले कृषि उत्पादन र बजारिकरणका गतिविधि बढाउँदै बैंकको उपस्थीति देशैभर बनाउने बताए ।  आगामी चैत्र १५ गते भित्र बैकले नयाँ बानेश्वरमा तयार गरेको केन्द्रीय कार्यालयको प्रधानमन्त्री मार्फत उद्घाटन गर्ने र २०७८ वैशाख भित्र सबै प्रदेश कार्यालयको उद्घाटन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

धान विज्ञ डा. भोलामान सिंह बस्नेत, कृषि वैज्ञानिक खड्गभक्त पौडेल, वनस्पती वीज्ञ प्रा.डा. चन्द्र प्रकास पोखरेल, गहूँ विशेषज्ञ डा. मदन भट्ट, पशुपक्षीं विज्ञ डा. बल बहादुर चन्द, कृषि विज्ञ शिव यन्दो लगायतका विज्ञहरुको सहभागीता रहेको यस बैकमा १५० जना भन्दा बढी कृषि, पोषण, वनस्पतीसँग सम्बन्धी अध्ययन गरेका व्यक्तिहरु संस्थापकको रुपमा रहेका छन् । साथै २०० जना कृषि प्राविधिकहरु पनि यो बैंकमा संग्लन छन् ।

  • राष्ट्रिय खाद्य बैंक के हो ?

राष्ट्रिय खाद्य बैंक लिमिटेड देशको ७७ ओटै जिल्ला र प्रदेशहरुमा उपस्थीति जनाउँदै कृषि उत्पादन र बजारिकरणमा सर्मपित संस्था हो ।
दुई अर्ब लगानीमा स्थापना भएको यो बैकले क्रमश उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ ।

“पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने नारासाथ स्थापना भएको संस्थाले कृषि क्षेत्रमा ठूलो लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, अग्रानिक उत्पादनलाई जोड दिने, कृषि क्षेत्रमा आवश्यक ज्ञान, सिप, विउ, विजन, मलजलको समुचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतको सहभागितामा यो बैक अगाडि बढेको हो । यो बैंक आफैँले खाधन्न, गेडागुडी, हरियो तरकारी, फलफुल, दही दुध, माछा मासु, चिया, जडिबुटी लगायतको उत्पादनको कार्य गर्दछ । साथै यो बैकले कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धानको पनि कार्य गर्दछ ।

देशैभरका किसानहरुसँग सहकार्य गरी गर्ने उदेश्य लिएको बैंकले कृषि कम्पनीहरु, कृषि सहकारीहरु, कषि समुहहरु, कृषिसँग सम्बन्धी अन्य संघसस्थाहरुसँग पनि सहकार्य गरी कार्य अघि बढाउने लक्ष्य लिएको छ । सोही अनुसारको कार्य सुरु पनि गरेको छ ।

बैंकले सरकारी खाली जग्गाहरु, सामुदायिक वनका खाली जग्गाहरु, गुठीका जग्गाहरु, व्यक्तिका जग्गाहरु लिजमा लिएर उत्पादनको कार्य अघि बढाउने छ । यस बैंकले हालसम्म कैलाली, कञ्चनपुर, वर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, बुटवल, पोखरा, रौतहट, बारा, लम्जुङ, पर्सा लगायतका जिल्लाहरुमा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्ने कार्य अघि बढाइसकेको छ ।

ती जिल्लाहरुमा जग्गा लिजमा लिने गृहकार्य अन्तिम चरणमा पुगिसकेको छ । हालसम्म बैकले वर्दिया जिल्लाको गुलेरीया नपा ३ खैरी लगायत वर्दिया जिल्ला विभिन्न ठाउँमा २०० विघा जग्गा लिजमा लिइसकेको छ । सोही स्थानमा करिव ५हजार विघा किसानका जमिनहरुमा सहर्काय गर्दै उत्पादन कार्य अघि बढाउने कुरा पनि अघि बढीसकेको छ । त्यसैगरी झापा, मोरङ र सुनसरी जिल्लामा १ हजार ४१ विघा र लमजुङमा ५० रोपनी जग्गा लिजमा लिने सहमती भएको र औपचारिक हस्ताक्षर हुन बाँकी रहेको छ । पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी, गेडागुडी, लगायतको उत्पादनलाई बैंकले प्राथमिकता दिएको छ ।

दोश्रो चरणमा माछा–मासु, फलफुल, दुध, तरकारी आदि उत्पादनलाई जोड दिनेछ । खासगरी पाइलट प्रोजेक्टको रुपमा हरेक प्रदेश र जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकसित गदै किसानलाई नै अधिकतम कृषि उत्पादनमा सरिक गराउने, उनीहरुले गरेका उत्पादनको बजार सुनिश्चित गर्ने कार्य यो बैंकले सहकार्य गर्दछ ।

कृषिमा देशलाई आत्मनिर्भर बनाउने अभिप्रायले अगाडि आएको यो बैकले गुणस्तरयुक्त खाद्य सामग्रीहरुलाई सुरक्षित भण्डारण गरी बैंक मार्फत आफ्नै सेल्स डिपो र होम डेलिभरीहरु इ–कर्मश मार्फत बिक्री वितरण गर्ने उदेश्य समेत बनाएको छ ।

त्यसैगरी यो बैंकले कृषि उत्पादन बृद्धि र व्यवसाय विस्तारको लागि अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना मार्फत आफना गतिविधिहरु सार्वजनिक गरिसकेको छ ।

कृषि पेशालाई मर्यादित, सम्मानीत बनाएर राष्ट्रिय उत्पादन बढाउने, देशलाई आत्मनिर्भर बनाउने कार्यलाई यो बैंकले अभियानको रुपमा अघि बढाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments