सानिमा लार्ज क्यापको इकाई सूचीकृत, बुधबारदेखि कारोबार खुल्ने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
११फाल्गुन, २०७७, मंगलवार / Feb 23, 2021 13:40:pm

सानिमा लार्ज क्याप फण्डले निष्काशनमा ल्याएको इकाई मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

प्रतिइकाई दश रुपैयाँ अंकित दरमा जारी भएको फण्डको १२ करोड इकाई दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी मंगलबार सूचीकृत गरिएको हो ।

यससँगै फण्डको इकाई बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ । सम्बन्धीत कम्पनीले सूचीकरण गराएको दोस्रो दिनदेखि नेप्सेमा खरीद बिक्री हुने प्रावधान अनुसार भोलिदेखि इकाईको कारोबार हुनेछ ।

योजना व्यवस्थापक सानिमा क्यापिटलले माघ २३ गते शुक्रबार इकाइको बाँडफाँड गरेको थियो । इकाइ खरीदका लागि निष्काशितभन्दा अधिक माग आवेदन परेपछि फण्डको आकार २० प्रतिशतले वृद्धि गर्दै एक अर्बबाट १ अर्ब २० करोड पुर्याइएको थियो । निष्काशनमा ल्याइएको आकारको तुलनामा उच्च माग परेको खण्डमा फण्डको आकार २५ प्रतिशतसम्म बढाउन सकिने व्यवस्था छ ।

फण्डको आकार वृद्धि भएसँगै एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई पुगेको छ । जसमध्ये बिज पूँजीको रुपमा १६.१६ प्रतिशत अर्थात १ करोड ९३ लाख ८८ हजार ९४० इकाई कोष प्रवद्र्घक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको थियो ।

बाँकी १० करोड ६ लाख ११ हजार ६० इकाई रितपुर्वक आवेदन दिन आवेदकलाई माग अनुसार नै बाँडफाँड गरिएको सानिमा क्यापिटलले जनाएको छ ।

फण्डको इकाई खरीदका लागि माघ ९ गतेदेखि माघ १५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेर सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।



Share on:


Comments