'निफ्रा' को शेयरमूल्यमा नकारात्मक सर्किट, सकारात्मक सर्किटमा बिक्यो ६ लाख बढी कित्ता

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
११फाल्गुन, २०७७, मंगलवार / Feb 23, 2021 15:37:pm

देशकै एक मात्र पुर्वाधार विकास बैंक (नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक) निफ्राको शेयरमूल्यमा मंगलबार सकारात्मक सर्किटपछि नकारात्मक सर्किट लागको छ । मंगलबार कारोबार सुरु भएको पन्ध्र मिनेटभित्रै नकारात्मक सर्किट लागेको बैंकको शेयरमूल्य अन्तिमसम्म नै नकारात्मक सर्किट मूल्यमा शेयर कारोबार भएर बजार बन्द भएको हो ।

लागतार सात कारोबार दिन दश प्रतिशतले वृद्धि हुँदै आएको बैंकको शेयरमूल्य आठौं दिनमा आएर सकारात्मक सर्किटपछि नकारात्मक सर्किट लागेको हो ।

सुरुवाति समयमा १० प्रतिशतले वृद्धि हुँदै प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको बैंकको शेयरमूल्य कारोबार खुलेको ६६० रुपैयाँबाट पनि १० प्रतिशत घटेर ५९४ रुपैयाँमा झरेको हो । दिनभरमा बैंकको शेयरमा प्रतिकित्ता १३२ रुपैयाँको उतार चढावको अवस्था रह्यो ।

नकारात्मक सर्किट ब्रेक लागेको बजारमा सकारात्मक सर्किट मूल्य ७२६ रुपैयाँमा नै ६ लाख ३५ हजार ३०० कित्ता शेयर खरीद बिक्री भएको छ । दिनभरमा कुल १० लाख ८१ हजार ३९५ कित्ता शेयर कारोबार भएको छ । आजको उच्च मूल्य ७२६ मा नै बुधबार कुल कारोबारको ५८.७५ प्रतिशत शेयर कारोबार भएकाले बैंकको शेयरमूल्य अझ माथि जाने देखिन्छ । त्यसमा पनि ठूला कित्ता (दश हजार कित्तासम्म)को कारोबार उच्च मूल्यमा कारोबार भएकाले पनि बैंकको शेयरमूल्यमा बाउन्स ब्याक हुने लगानीकर्ताहरु बताउँछन् ।

आज बिक्री भएको शेयरको करिब ६० प्रतिशत शेयर नै उच्च मूल्यमा कारोबार भएकाले बैंकको आगामी दिनमा शेयरमूल्य बढ्ने देखिएको छ । आजको उच्च मूल्यमा शेयर खरीद गरेका लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्न पनि बैंकको थप शेयर उठाउनेछन् । यसो हुँदा आजको घटाईलाई ठूला कारोबारीहरुले सस्तो मूल्यमा शेयर उठाउनका लागि घटाएको लगानीकर्ताको बुझाई छ ।

नेपालको एउटै मात्र पुर्वाधार बैंक भएको र आगामी दिनमा बैंकले हकप्रद शेयर जारी गरेर एक खर्ब रुपैयाँ चुक्ता पूँजी पुरयाउने घोषणा गरेकाले सस्तो मूल्यमा शेयर नबेच्न पुराना लगानीकर्ताहरु सुझाव दिन्छन् ।

अनामनगर स्थित एक ब्रोकर कम्पनीमा भेटिएका लगानीकर्ताले यो बैंकको शेयर सबै आवेदकले पाएकाले नयाँ लगानीकर्ताले आत्तिएर शेयर बेच्दा बिक्री चाप बढेको बताए । पुराना लगानीकर्ताले बरु सस्तो मूल्यमा शेयर थपेका छन् । यसले पनि बैंकको करिब ७४ करोडको शेयर कारोबार भएको छ । त्यसमा पनि उच्च मूल्यमा नै ४६ करोड बढीको शेयर खरीद बिक्री भएकाले बैंकको शेयर दीर्घकालीन लगानीकर्ताको रुपमा होल्ड गर्दा घाटा नहुने उनले बताए ।

शेयर बजारका पुराना लगानीकर्ता वेदनाथ घिमिरे पनि बजारमा आउने क्षणिक उतार चढावबाट लगानीकर्ता आत्तिन नहुने बताउँछन् । उनले भने ‘ यसअघि सबै आवेदकले शेयर पाएको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा पनि करेक्शन आएपछि करेक्शन सुरु भएको दोब्बरसम्म मूलय बढ्यो । त्यसैले अहिले प्राथमिक बजारमा आईपीओ भरेका लगानीकर्ताले शेयरमूल्यय घट्यो भनेर आत्तिएर बिक्री गर्दा त्यसबाट पाउनुपर्ने फाइदा गुम्नसक्छ’ ।

ब्रोकर कम्पनीका एक प्रबन्ध सञ्चालकले पनि नोटबजारसँगको कुराकानीमा आजकै कारोबारबाट निफ्राको शेयरमूल्य ओरालो लागेको भन्न नमिल्ने बताए । लगानीकर्ताको माग र आपूर्तिका अवस्थाले बजारमूल्य निर्धारण हुने बताउँदै उनले भने ‘आजको कारोबारले पनि बैंकको घट्दो मूल्यमा शेयर खरीद राम्रै भएकाले भोलि नै पनि बैंकको शेयरमूल्य स्थीर बन्न सक्छ ।’

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।



Share on:


Comments