भर्‍याङमा खोलिएको चिया पसलले काठमाण्डौंमा घर

अन्जना सुबेदी
काठमाडौं।
२चैत्र, २०७७, सोमबार / Mar 15, 2021 17:37:pm

काठमाण्डौंको चाबहिल स्थित एक घरको भर्‍याङमै चिया पसल सञ्चालन गर्दै आएका दम्पतीले चिया बेचेरै अहिले करोडौंको मालिक बनेका छन् ।

अर्काको घरको भर्‍याङमा चियापसल सञ्चालन गर्दे आएका उनीहरुले महिनामा लाखौं कमाउने गरेका छन् । दुईतले घरको भर्‍याङको खुड्किला खुड्किलामा राखिएको उक्त चिया पसल झट्ट हेर्दा पसल जस्तो पनि देखिँदैन ।

चिया पसलमा आउने ग्राहकलाई बस्नका लागि नत टेबल कुर्सी राखिएका छन् नत विशेष आकर्षण नै । लाग्छ यहाँ को आउला र ? तर त्यो भर्‍याङले बिहान बेलुकाको छाक मात्र टारेको छैन । कसैको सपना, कसैको भविष्य त कसैको भोको पेट भरेको छ भने राजधानी जस्तो महँगो शहरमा घरै बनाउन सघाएको छ ।

चाबहिल चोकमा रहेको आकाशे पुलबाट झरेर दुइ चार पाइला अघि बढेपछि स्तुपा जाने बाटामा सोही भर्‍याङ भेटिन्छ । त्यो भर्‍याङमा उक्लन साथ विद्यार्थी देखि सरकारी जागिरे सम्मको भोक हराउन थाल्छ । कारण त्यो भर्‍याङमा जे पाक्छ गाउँकै तिर्सना मेटाउने परिकार पाक्छ । जहाँ खाना देखि विभिन्न खाजा पाकेको हुन्छ ।

आज भन्दा करिब २० वर्षअघि एक दम्पत्तीले यहि भर्‍याङलाई आफ्नो जीन्दगीको सहारा बनाए । रामेछापको गुन्छीमा जन्मिएकी अप्सरा गजुरेलले २०५५ सालमा काभ्रे सिम्लेका थलप्रसाद गजुरेलसँग मागि विवाह गरिन् । विवाह भएको वर्ष दिनपछि उनले छोरी जन्माईन् । आफुलाई पढ्ने मन हुँदा हुँदै पनि पढ्न नपाएकी अप्सरालाई छोरीको भविष्यको चिन्ता लाग्न थाल्यो । काभ्रेको त्यो उकालो ओरालो र टाढाको स्कुलमा सन्तान पनि पढाउन नपाउने हुँ कि भन्ने पिरलोले सताउन थाल्यो ।

ढुङ्गा चामल कुटेर हुन्छ कि जसरी हुन्छ छोराछोरी पढाँउछु भनेर कम्मर कसिन् र २०५७ सालमा काडमाण्डौं आइन् अप्सरा । काठमाण्डौं भित्रिएपछि थलप्रसादले अर्का कै भान्सेदेखि पसले सम्मको काम गरे । परिवारै बोकेर आएका उनीहरुलाई पनि सहरमा कहाँ सजिलो थियो र । अर्काको पसलमा काम गर्दा महिनावारी ज्याला नपाउँदा र त्यसमा पनि लालावाला र श्रीमती हुँदा सकस कसलाई पो नहुँदो हो। थलप्रसादको बोलाउने नाम गोविन्द हो । एकदिन गोविन्द र अप्सराका मानसपटलमा अब जागिर नखाने केही व्यवसाय गर्ने भन्ने सोच पलायो । महिनाको १ हजार ५ सयको जागिर खाने गोविन्दको त्यति पैसा आफुबस्ने कोठाभाडा र घरखर्चमा नै सकिन्थ्यो । ठूलो व्यवसाय अंगाल्न पूँजीको अभावमा आँट पनि गर्न सकेनन् र उनले भर्‍याङमा चिया पसल खोल्ने निधो गरे ।

विसं २०५८ साल साउनदेखि गोविन्दको चिया पसल सुरु भयो । गोविन्दले दिउँसो कम्प्यूटर पसलमा काम गर्थे भने अप्सराले भर्याङको चिया पसल चलाउँथिन् । बिहानको झिसमिसे उज्यालो हुनसाथ अप्सरा चिया पसलतिर व्यस्त हुन्थिन् भने कम्प्यूटर पसल नजाँदासम्म गोविन्दले अप्सरालाई सघाउँथे । तर अर्की छोरी जन्मीएपछि गोविन्दले कम्प्यूटर पसलमा काम गर्न छाडे र सहयात्री बने भर्‍याङ पसलको ।

अप्सरालाई अहिले त्यति व्यस्त हुन्नन् । उनलाई सघाउने छोराछोरी र श्रीमान छन् । कुनै समय मध्यरातमा पानी ल्याउनु पथ्र्यो भने छोराछोरीका स्कुलका पोशाक पनि मध्यरातमै धुनुपर्थो । बिहान नानीहरुलाई खाना खुवाउन र स्कुल पुर्याउन पनि धौ धौ पर्थो । अप्सराले पुराना कुरा सम्झँदै भनिन् ।

अहिले यस्ता दिन आउलान् भन्ने सोचेकी पनि थिइँन, अप्सरा भन्छिन् । सहरमा जति जे गरेपनि गाउँ जस्तो हुँदैन । गाउँमा त सबैले चिन्छन् यहाँ त यहि वरपर बस्नेलाई पनि चिन्दैनन् । मलाई गाउँमै गएर कृषि फारमहरु खोल्न रहर चाहिँ छ । उनले थपिन्। वरपरका बैंकहरु, सहकारी र सरकारी तथा निजी कार्यालयहरुमा भर्‍याङमै पाकेका खाना तथा खाजाहरु पुग्छन् । विद्यार्थी, पत्रकार लगायत सर्वसाधारणको मिठो खाजा तथा चिया अड्डा बनेको छ भर्‍याङ ।

गजुरेल दम्पत्तिले त्यहाँ चिया, चना, अन्डा, खाना, रोटी तरकारी, नेवारी खाना, चाउमिन लगायतका परिकारहरु बेच्ने गरेका छन् । त्यसबाट दैनिक ८ देखि १० हजार कमाउँछन् । त्यही भर्‍याङको गोविन्दको चिया पसलले बौद्धमा करिब ५ वर्ष अघि ८६ लाखको २ तलाको घर किनेका छन् । हामी टन्न पैसा कमाउँला, काठमाण्डौंमा घर बनाउँला भन्ने सोचले काठमाण्डौं आएका थिएनौं । म छोराछोरीलाई पढाउँछु नै भनेर आएकी हुँ । अप्सराले भनिन् ।

अप्सरा र गोविन्दका ३ छोरी र १ छोरा छन् । जेठी छोरी व्याचलर पढ्छिन्, माइली कक्षा १२ भने कान्छी एसइइको तयारीमा छिन् र छोरो कक्षा ४ मा पढ्छन् । छोराछोरीलाई समयमा खाना खान दिन नभ्याएको, स्कुलमा ढिलो पुर्याउदा शिक्षकहरुले तपाईका छोराछोरी मात्र किन ढिलो भनेर गाली गर्दा बोल्ने कुनै शब्द नहुँदाको नमिठो यर्थात अप्सरानको सम्झानमा अझै ताजा छन् । अप्सराले छोरीहरुलाई बाँधेर राख्ने र चिया पकाउने गर्थिन् । आज ती विगतका सम्झना एउटा अतित बनिसकेको छ । कति झरी बिते त्यही भर्‍याङमा, कति रात अनिँदो बनेर नै कटे । २० वर्षअघि सानो लगानीमा खोलिएको उक्त पसल अहिले गोविन्दको चिया पसल नामले चाबहिलमा चर्चित छ । उही पुराना भाँडाकुँडा, त्यही २ दशक अघिको ग्याँस चुलो, त्यही भर्‍याङ जस्ताको त्यस्तै छ । फेरिएको छ त अप्सराको परिवारको दिन ।

नम्र र मिजासिलो स्वभाव भएर पनि होला एक पटक पुगेका मान्छे फेरि फेरि पनि नगइ बस्न सक्दैनन् । गोविन्दको चिया पसलमा ३०० रुपैयाँ मा मटन खाना, २०० रुपैयाँमा चिकेन खाना र सादा खाना १२० रुपैयाँमा पाइन्छ । गोविन्दले २०७२ साल अघि त्यो भर्‍याङको भाडा तिर्नुपर्दैन थियो । उनले त्यो भर्‍याङ भएको घरको रेखदेख गर्थे । तर २०७२ सालपछि भर्‍याङको भाडा ६ हजार रुपैयाँ तिर्दै आएका थिए ।

भर्‍याङ छेउकै डेन्टल सरेपछि गजुरेल दाम्पतीले एउटा सटर पनि लिएर आफ्नो व्यवसायलाई विस्तार समेत गरेका छन् । भर्‍याङ र सटर गरेर अहिले मासिक २० हजार भाडा तिर्ने गरेको उनी बताउँछन् । हिजोका ती संघर्षका कथा सुन्दा अपत्यारिलो लाग्छ । त्यसमा पनि यो सहरमा चम्किने होटल क्याफे भन्दा कम छैन भर्‍याङ अनि ती भर्‍याङ सजाउने अप्सरा र गोविन्द ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।



Share on:


Comments