वास्तविक क्षेत्रका कम्पनीलाई शेयर बजारमा भित्र्याउन ‘बुक बिल्डिङ’: धितोपत्र बोर्ड

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१०चैत्र, २०७७, मंगलवार / Mar 23, 2021 19:19:pm

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले धितोपत्र बजारमा लागू गरिएको बुक बिल्डिङ विषयमा नेपाल धितोपत्र बोर्डसँग छलफल गरेको छ ।

नाफिजले पूँजीबजार विषयमा कलम चलाउँदै आएका दुई दर्जन पत्रकारमाझ बुक बिल्डिङ विषयको ज्ञानको दायरा विस्तार गर्ने उद्देश्यले बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीसँग छलफल गरेको हो ।

सो अवसरमा बोर्डका कार्यकारी निर्देशक गिरीले पत्रकारहरुलाई बुक बिल्डिङको आवश्यकता, प्रक्रिया, नीतिगत व्यवस्थाबारे जानकार गराए । साथै, उपस्थित सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ पनि दिएका थिए ।

सो अवसरमा नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशक निरज गिरीले शेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गर्न आईपीओमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको बताए । यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मुल्यमा आईपीओ जारी गर्न सहयोग गर्ने उनको भनाई छ ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै पूँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनले बताए । अहिले राष्ट्र बैंक वा बीमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि शेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा त्यसले कम असर गर्ने जिकिर गरे ।

धितोपत्र निष्कासनको लागि गराएको रेटिङमा औषतभन्दा माथि अर्थात् औषत भन्दा कम जोखिम भएका, चुक्ता पूँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो ३ आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्नसक्ने जानकारी उनले दिए ।

उक्त विधिबाट आईपीओ निष्काशन गर्न सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कुल निष्काशन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने र बिक्री निष्काशन भएको ६ महिनासम्म संस्थागत लगानीर्ताले शेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ । साथै संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मूल्य’ को १० प्रतिशत कम मूल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ ।

पहिले अनिवार्य रुपमा २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था रहेपनि बोर्ड केही समय अगाडि मात्रै चुक्ता पूँजीको १० प्रतिशत मात्रै प्रारम्भिक सार्वजनिक निष्काशन गर्नसक्ने व्यवस्था गरेको छ ।

यसैबीच, सर्वोत्तम सिमेन्टले आईपीओ जारी गरेको ३ महिना भित्रमा नै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने दाबी गर्दै आएकामा नेपाल धितोपत्र बोर्डले आफूले यस्तो गतिविधि नियालिरहेको बताएको छ ।

अन्तरक्रियाका क्रममा उठेको प्रश्नको जवाफ दिँदै बोर्डका कार्यकारी निर्देशक गिरीले भने, “कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौं’ भन्न मिल्दैन ।” सर्वोत्तम सिमेन्टको उक्त प्रचारलाई बोर्डले ‘¥याडर’ मा राखेको उनले बताए ।

छलफलबाट नाफिजमा आवद्ध आर्थिक पत्रकारले नयाँ विषयमा बारेमा सिक्ने अवसर पाएकाले समाचारको गुणस्तरमा पनि सुधार आउने नाफिजको अध्यक्ष मोदनाथ ढकालले बताए । अन्तरक्रियामा उपस्थित हुन नसक्नेका लागि नाफिजको फेसबुक लाइभ मार्फत् हेर्ने व्यवस्था मिलाइएको थियो ।

नाफिजले हरेक साता आर्थिक पत्रकारिताका नयाँ विषयमा ‘नाफिज संवाद’ चलाउँदै आएको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments