नेपाली उद्योगी व्यवसायीहरू पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक : चेम्बर अध्यक्ष

-नोटबजार संवाददाता।
काठमाडौं।
१२चैत्र, २०७७, बिहीबार / Mar 25, 2021 13:01:pm

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ । चेम्बर भवन कान्तिपथमा बुधबार भएको भेटमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ ।

छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका खेलेको जानकारी गराए । उनले नेपाली उद्योगी व्यवसायीहरू पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताउँदै नेपालमा लगानी गर्न आग्रह गरे ।

नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, खानी लगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न उनले राजदूत शाहलाई सुझाव दिए । चीनले नेपाललाई आठ हजार बस्तुहरूमा दिएको भन्सार सुविधाका कारण पनि नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उनले जानकारी गराए । अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स-सेलर्स मिट’ गर्न प्रस्ताव गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत शाहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको जानकारी दिँदै चेम्बरजस्ता निजी क्षेत्रका संस्थाहरूले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे । पाकिस्तानी राजदूतले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रहरूबारे चासो व्यक्त गरेका थिए । चेम्बर पदाधिकारी र राजदूतबीच दुई देशका बीचमा रहेका व्यापारिक कठिनाईका बारेमा पनि छलफल भएको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments