नेपाल टेलिकमको लाभांश पारित, सर्वसाधारण सञ्चालकमा पौडेल निर्विरोध

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१३चैत्र, २०७७, शुक्रबार / Mar 26, 2021 16:26:pm

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड  (टेलिकम) को शुक्रबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको छ ।

शुक्रबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य समेत चयन गरेको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी अम्बिका प्रसाद पौडेललाई निर्विरोध चयन गरेको हो ।

नवनिर्वाचित सञ्चालक पौडेलले आफुलाई सञ्चालक पदमा निर्वाचित गराई कार्य गर्ने अवसर दिएकोमा सम्पूर्ण सर्वसाधारण शेयरधनी र कर्मचारी शेयरधनीहरु प्रति आभार व्यक्त गर्दै आफुले पाएको विश्वासलाई कार्य क्षेत्रमा इमान्दारितापूर्वक निर्वाह गर्ने बताए । उनले शेयरधनीहरुलाई उचित प्रतिफल, कर्मचारीहरुलाई उचित प्रोत्साहन र दूरसञ्चार सेवालाई अझै सर्वसुलभ तथा गुणस्तरीय बनाउनको लागि कार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments