रुरु जलविद्युतले तीन वर्षमा सञ्चित नाफा दोब्बर बनाउने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२०चैत्र, २०७७, शुक्रबार / Apr 02, 2021 10:55:am

  • वित्तीय अवस्था र प्रक्षेपण

शुक्रबारदेखि सर्वसाधारणमा ४ करोड ७ लाख ७० हजार ६०० रुपैयाँको शेयर जारी गरेको रुरु जलविद्युत परियोजनाले आगामी तीन वर्षभित्र कम्पनीको सञ्चित नाफा दोब्बर बनाउने प्रक्षेपण गरेको छ ।

आईपीओ निष्काशनका लागि सार्वजनिक भएको विवरणपत्र अनुसार आव २०७६।७७ मा ६ करोड १४ लाख रुपैयाँ सञ्चित नाफा आर्जन गरेको कम्पनीले आव २०७९।८० सम्ममा सञ्चित नाफा ११ करोड ६० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको हो ।

गत आवमा ११८.८४ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको कम्पनीको तीन वर्षपछि १३०.४७ पुग्ने जनाएको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी भने साधारण शेयर जारीपश्चात घट्ने उल्लेख गरेको छ । कम्पनीको गत आवमा वार्षिक इपिएस १७.९० कायम गरेकोमा आव २०७९।८० मा १४.०१ म रहने आंकलन गरेको छ ।

यसबीचका दुई आवहरुमा क्रमश १२०.९० र १२६.४७ रुपैयाँ प्रतिशेयर नेटवर्थ र १४.३६ र १५.५७ रुपैयाँ वार्षिक प्रतिशेयर आम्दानी रहने आंकलन कम्पनीको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७।७८ मा ७ करोड ७० लाख रुपैयाँ र २०७८।७९ मा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित नाफा कमाउने लक्ष्य रहेको छ । तीन वर्षअघि आव २०७४।७५ मा कम्पनीको सञ्चित नाफा ३ करोड २६ लाख, प्रतिशेयर नेटवर्थ ११०.०१ र वार्षिक प्रतिशेयर आम्दानी १०.४६ रुपैयाँ रहेको थियो । आईपीओ जारी गर्नुभन्दा तीन वर्षअघि नै वार्षिक दश रुपैयाँ आम्दानी भएकपनि प्रकाशित विवरणपत्र अनुसार आगामी तीन वर्षभित्र कम्पनीले पूँजी वृद्धिको योजना अघि सारेको छैन ।

कम्पनीको लगानीमा प्रतिफल आव २०७४।५ रहेकोमा गत आवमा १५.०५ मा बढेकोमा आव २०७९।८० मा पुग्दा भने घटेर १०.७४ प्रतिशत कायम हुने उल्लेख छ ।

  • प्रतिमेगावाट उत्पादन लागत १५ करोड

जडित क्षमता ५ मेगावाट रहेको आयोजनाको कुल लागत ७४ करोड ४५ लाख रुपैयाँ र प्रतिमेगावाट उत्पादन लागत १४ करोड ८९ लाख रहेको छ । माथिल्लो हुग्दीखोला जलविद्युत आयोजनामा गरिएको लगानी साधारण लगानी फिर्ता हुन ५.२४ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.४२ वर्ष लाग्ने जनाएको छ ।

आयोजनाको विद्युत उत्पादन अनुमति २१०४ साउन २९ गतेसम्म अर्थात २७ वर्ष रहेको छ । परियोजना निर्माण सम्पन्न भइ २०७१ चैत ९ गतेदेखि विद्युतको व्यापारिक उत्पादन भइसकेको हुँदा हाल उत्पादन गरिरहेको विद्युत शक्तिलाई नै अधिकतम क्षमतामा उत्पादन गर्नेछ । थप नयाँ उत्पादन गर्ने वा यसै परियोजनामा सेवा विस्तार गर्ने अन्य कुनै योजना भने नरहेको कम्पनीले जनाएको छ ।

रुरु जलविद्युत परियोजनाको आईपीओ खुल्यो, आईपीओ पाउन भाग्यकै भर

  • आईपीओबाट प्राप्त रकम ऋण चुक्ता गर्न प्रयोग गरिने

प्राथमिक शेयर निष्काशन (आइपीओ) बाट प्राप्त भएको रकम कम्पनीले दीर्घकालिन ऋण चुक्ता गर्न तथा आयोजनाको अन्य संचालन खर्च गर्नका लागि प्रयोग गरिने जनाएको छ ।

रुरु जलविद्युत परियोजनाका लागि संस्थापक शेयरधनीहरुको स्वःलगानी तथा एनएमबि बैंक लिड बैंकको रुपमा र कुमारी, लुम्बिनी विकास बैंक, माछापुच्छ्रे बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंकबाट सहवित्तीयकरण ऋण व्यवस्थापन सम्झौता गरिएको छ ।

उक्त कर्जाको कुल स्वीकृत सीमा ४८ करोड २४ लाख भएकोमा २०७७ आश्विन मसान्तसम्ममा २७ करोड ८६ लाख ५० हजार रुपैयाँ कर्जा भुक्तानी हुन बाँकी छ ।

  • सञ्चालक र आधारभुत शेयरधनी

कम्पनीको रहने ७ जना सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट ५, सर्वसाधारणबाट १ जना तथा स्वतन्त्र सञ्चालकमा १ जना गरी ७ को सञ्चालक समिति रहनेछ ।

कम्पनी सञ्चालक समितिको अध्यक्ष कंक्रिट व्यवसायमा संलग्न आशिष सुवेदी रहेका छन् । अन्य सदस्यहरुमा राष्ट्रिय सहकारी महासंघ, पुल्चोक, ललितपुर– अध्यक्ष मिन राज कडेंल, भरत प्रसाद नेपाल, चन्द्र बहादुर पुन र साकुरा पाइप उद्योग प्रा. लि, बुटवल, रुपन्देहीका संचालक गमप्रसाद रेश्मी छन् ।

कम्पनीमा दुई संस्थागत र आठ व्यक्तिगत गरी दश आधारभुत शेयरधनी रहेका छन् । जसमा भरत प्रसाद नेपाल, देउराली–३, पाल्पा, पुर्वान्चल इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रा.लि विर्तामोड २ झापा, सावित्री अधिकारी धादिङ्ग धुवाकोट ८ , तारा प्रसाद संजेल, अर्जुनधरा – ५, झापा, हरी प्रसाद निरौला अर्जुनधरा-५ झापा, डम्बर ब. देउजा अर्जुनधरा – ५ झापा, आदर्श नागरिक इनभेष्टमेन्ट कम्पनी प्रा.ली, बुटवल ८ रुपन्देही, डा.संदिप शाह का.म.न.पा. १० काठमाण्डौ, एकराज पाण्डे मदानपुर ६ नुवाकोट र निरा अर्याल का.म.न.पा. ५ रहेका छन् ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments