४० अर्ब निक्षेप संकलन हुँदा ३८ अर्ब कर्जा, पुनरकर्जाले निक्षेप बढ्यो

-नोटबजार संवाददाता।
काठमाडौं।
२२चैत्र, २०७७, आईतवार / Apr 04, 2021 18:28:pm

नेपाल राष्ट्र बैंकले पुनरकर्जाको रकम बजार पठाएपछि बैंकहरुका निक्षेप बढ्न थालेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावित उद्योग व्यवसायलाई दिएको पुनरकर्जा बापतको रकम रिलिज भएपछि बैंकहरुमा एक सातामा नै ४० अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।

पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैंकहरुलाई चैत महिनाको तेस्रो सातामा सहज भएको छ । कर्जाको माग अनुसारको सम्बोधन गर्न नसक्दा बैंकहरुले कर्जालाइ छनोट गरेर दिन थालेका थिए । कोरोनाका कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैंकहरुमा कर्जाको माग बढेपछि बैंकहरु पनि कर्जा विस्तारमा आक्रमक भएका हुन् ।

फागुन महिनामा ४० अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले चैत महिनाको तेस्रो सातामा मात्रै ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंकहरुले ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

चैत्र महिनाको १३ गतेसम्ममा बैंकहरुले २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए । तर, चैत महिनाको २० गतेसम्ममा बैंकहरुले ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

पछिल्ला दिनहरुमा आयातमा आएको वृद्धि तथा व्यापार व्यावसाय चलायमान भएपछि बैंकहरुमा कर्जाको माग बढेको बैंकहरु बताउँछन् । बैंकहरुले केही दिन अघिसम्म आक्रामक भएर कर्जा प्रबाह गर्दा तरलतामा दबाव परेको थियो । त्यसको असरले अन्तर बैंक दरसमेत बढेर ४ प्रतिशत भन्दा माथि पुगेको थियो । तर, पुनरकर्जाको रकम बजारमा आएपछि अन्तर बैंक ब्याजदर समेत घटेर ०.४३ सम्म झरेको थियो । आजभन्दा ४ दिनसम्म अन्तर बैंक दर ०.८२ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

पुनरकर्जाको रकमले तत्कालका लागि बजार तरलतामा दबाब नपर्ने अवस्था आएको छ । तर, चैत महिनाको अन्तिमसम्म सरकारी खर्च नवढेको खण्डमा तरलतामा समस्या पर्ने एक बैंकरले बताए । अहिले बैंकहरुको औसत पूँजी कर्जा निक्षेप अनुपात पनि दैनिक रुपमा बढीरहेको छ । पछिल्लो समयमा सस्तो ब्याजदरका कारण पनि कर्जाको माग उच्च देखिन्छ । ब्याजदर सस्तो भएका कारण दीर्घकालिन योजनाका सञ्चालकहरु पनि यहि समयमा कर्जा माग बढेको छ ।

पछिल्ला दिनहरुमा कोरोनाको दोस्रो लहरको हल्लाले गर्दा आम जनमासनमा त्रास बढेको अवस्था छ । यसले गर्दा आगामी दिनमा कर्जाको मागमा कमी आउन सक्ने जोखिम भने देखिन्छ । चैत २० गतेसम्ममा वाणिज्य बैंकहरुले कुल ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । यो अवधिमा बैंकहरुले ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments