स्वास्थ्य बीमा कार्यक्रमको चार वर्षः ६९ जिल्लामा सेवा विस्तार, ३७ लाख समेटिए

-नोटबजार संवाददाता।
काठमाडौं।
२४चैत्र, २०७७, मंगलवार / Apr 06, 2021 17:39:pm

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमले चार वर्षको अवधि पुरा गरेको छ । सरकारले नागरिकको स्वास्थ्य उपचारसम्बन्धी अधिकारलाई बीमामार्फत सुनिश्चित गर्नका लागि आर्थिक वर्ष ०७१/७२ को बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरेको थियो ।

२५ चैत २०७२ मा कैलाली, बाग्लुङ र इलामबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम चार वर्षको अवधिमा ६९ जिल्लामा विस्तार भएको छ  । चैत्र २५ गते बुधबार भोलि थप ६ जिल्लामा सेवा विस्तार गर्ने स्वास्थ्य बीमा बोर्डले जानकारी दिएको छ ।

बोर्डले चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्न लागेको हो । त्यस्तै, काठमाडौँ र ललितपुरमा भने वैशाखमा उक्त कार्यक्रम विस्तार गर्ने तयारीमा रहेको बोर्डले जानकारी दिएको छ।

चार वर्षको अवधिमा यस कार्यक्रममा ११ लाख २६ हजार ८१ घर परिवारका ३७ लाख ४२ हजार भन्दा बढी बीमितहरु सहभागी भएका छन् । कुल बीमितमध्ये ३४ प्रतिशत अर्थात १४ लाख ४५ हजार ५ सय ३३ जनाले सेवा लिएका छन् ।

उक्तः कार्यक्रममा अति गरिब, विपन्न, जेष्ठ नागरिक, एजआइभि पोजेटिभ, अपाङ्ग तथा महिला स्वास्स्थय स्वंयसेविका समेत सहभागी भएका छन् । अति गरिब र विपन्न ४ लाख ६० हजार ७ सय ७८ जना, जेष्ठ नागरिक बीमितमा ४ लाख २३ हजार जना, १३ हजार ५ सय ९ जना एचआईभी पोजेटिभ, ५३ हजार ६ सय २४ जना अति सशक्त अपाङ्ग, १ हजार ५ सय ६६ जना टि.भी रोग र ४७ हजार ८ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविको आवद्ध रहेको बोर्डकोे तथ्याकं छ ।

स्वास्थ्य बीमा बोर्डले पाँच जनाको परिवारलाई एउटा युनिट मानेको छ  । यस कार्यक्रम अन्तर्गत एउटा परिवारले ३ हजार ५०० रुपैयाँमा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७०० रुपैयाँ थप गर्नुपर्ने हुन्छ  ।

सरकारले स्वास्थ्य स्वयंसेवीका, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क बीमाको व्यवस्था गरेको छ  । उपचार सुविधाका लागि बोर्डले विभिन्न स्वास्थ्य चौकी र सरकारी अस्पतालसँग सम्झौता गरेको छ  ।

बीमितले उपचार सेवा उपभोग गर्नका लागि बोर्डले सम्झौता गरेको स्वास्थ्य चौकी वा तोकिएको अस्पताल जानुपर्ने हुन्छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments