स्वास्थ्य बीमा कार्यक्रमबारे नागरिक एपबाट पनि जानकारी लिन सकिने
सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा स्वास्थ्य बीमा कार्यक्रम समावेश भएको छ ।
स्वास्थ्य बीमा बोर्डले पाँचौ स्वास्थ्य बीमा दिवसको अवसर पारेर नागरिक एपमार्फत स्वास्थ्य बीमा कार्यक्रमको जानकारी लिन सकिने सेवाको शुभारम्भ गरेको हो । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसर पारेर बोर्ड स्वास्थ्य बीमा सम्बन्धी सबै जानकारी दिनका लागि नागरिक एपमा आबद्ध भएको हो ।
उक्त एपबाट आम नागरिकले स्वास्थ्य बीमा सम्बन्धी सम्पूर्ण जानकारी लिनसक्ने बोर्डका सूचना अधिकारी हिमाल ज्ञवालीले जानकारी दिए । यसै दिन बोर्डले मोबाइल एसएमएस सेवा सुचारु गरेको उनले बताए । बीमितले सेवा लिएपछि कति रकमको सेवा लिएको हो सो रकम सम्बन्धी जानकारी एसएमएसको माध्यमबाट सिधै थाहा पाउन सक्ने बोर्डले जानकारी दिएको छ ।
“बिरामीले सेवा लिएपछि, तपाईको यति पैसा खर्च भयो, बाँकी यति पैसा छ भन्ने जानकारी एसएमएसको माध्यमबाट थाहा पाउँछन्” उनले भने । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुँदा राखिएको मोबाइल नम्बरमा सो सम्बन्धी जानकारी आउने उनको भनाई छ ।
- स्वास्थ्य बीमा ७५ जिल्लामा पुग्यो
स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा विस्तार भएको छ । बोर्डले पाँचौ स्वास्थ्य बीमा दिवसको अवसर पारेर थप ६ जिल्लामा भर्चुअल माध्यमबाट सेवा शुभारम्भ गरेको हो ।
पछिल्लो पटक ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले भर्चुअल माध्यमबाट बुधबार थप जिल्लामा सेवा विस्तार कार्यक्रमको उद्ध्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीसहित स्वास्थ्य राज्यमन्त्री, बोर्डका अध्यक्ष, कार्यकारी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
सेवा विस्तार भएका थप ६ जिल्लामा स्थानिय व्यक्ति, जनप्रतिनिधिहरुको बीचमा उद्धघाटन कार्यक्रम समेत राखिएको बोर्डले जनाएको छ । त्यस्तै, सेवा विस्तार हुन बाँकी रहेका दुई जिल्ला काठमाडौँ र ललितपुरमा भने वैशाखमा गर्ने तयारीमा रहेको बोर्डले जानकारी दिएको छ ।
स्वास्थ्य बीमा बोर्डले उपलव्ध गराएको तथ्यांकअनुसार यस अवधिमा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेको संख्या ३७ लाख ४२ हजार ६५६ पुगेको छ ।
📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।