एनआइसी एशिया र सिटिजन्स बैकको साधारण सभा आज, दशैं अगाडि नै लाभांश

Note Bazar १०आश्विन, २०७६, शुक्रबार / Sep 27, 2019 08:53:am

गत आर्थिक बर्षका लाभांश लगायतका प्रस्ताव पारित गर्न आज असोज १० गते शुक्रबार एनआइसी एशिया र सिटिजन्स बैकको साधारण सभा हुँदैछ । दुवै बैंकले गत आर्थिक बर्षको लाभांश लगायतका विभिन्न प्रस्तावहरु पारित गराउनेछन् ।

एनआइसी एसिया बैंक

एनआईसी एसिया बैंकको साधारण सभा बिहान ९ बजेदेखि आर्मी अफिसर्स क्लबमा हुँदैछ । साधारण सभामा बैंकले गत आर्थिक बर्षको कमाईबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि एनआइसीले भदौ २९ गतेदेखि असोज १० गतेसम्म बुक क्लोज गरेको छ । भदौ २८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन्।

त्यस्तै बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई एक्वायर गर्ने नीति अख्तियारी गर्नेछ । जसका लागि कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभामा लगिँदै छ ।

यसैगरी, आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताब, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, प्रबन्धपत्र तथा नियमावली संशोधन लगायतका एजेण्डा रहेका छन् ।

प्रस्तावित लाभांश वितरण गरेपछि बैंकको चुक्ता पुंजी ९ अर्ब ७१ करोड ७६ लाख पुग्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ।

सिटिजन्स बैंक

यस्तै, सिटिजन्स बैंकले शुक्रबार बिहान ९ बजे डिल्लीबजार स्थिति अमृत भोग पार्टी प्यालेसमा साधारण सभा आह्वान गरेको हो । साधारण सभाले बैंकले गत आर्थिक बर्षको कमाईबाट प्रस्ताव गरेको १२ प्रतिशत नगद तथा ३ प्रतिशत बोनस लाभांश पारित गर्नेछ ।

यसैगरी आर्थिक बर्ष २०७५–७६ को नाफा नोक्सान हिसाब किताब, २०७६–७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने, उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने लगायतका एजेण्डा रहेका छन् ।

साधारण सभा प्रयोजनाका लागि सिटिजन्सले भदौ ३१ गते बुक क्लोज गरिसकेको छ । भदौ ३० गते सम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।


Share on:


Comments