मेलम्चीको बाँकी काम पूरा गर्न सिनो हाइड्रोसँग सम्झौता, १२ महीनामा पूरा गर्ने

–रमेश लम्साल/रासस
१३आश्विन, २०७६, सोमबार / Sep 30, 2019 07:17:am

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आज सम्झौता भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा मेलम्ची खानेपानी परियोजनाको काम बीचैमा अलपत्र छाडेर इटालियन कम्पनी सिएमसी भागेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको हो ।

विगतमा सिएमसीले काम पाउँदा दोस्रो नम्बरमा रहेको सिनो हाइड्रो पुनःमेलम्चीमा फर्किएको छ । सिएमसीले अलपत्र पारेको कामको जिम्मेवारी १२ महीनामा पूरा गर्ने गरी कूल रु ८५ करोड एक लाख ९४ हजार ४५८ मा जिम्मा लिएको हो । द्विपक्षीय सम्झौतामा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र सिनो हाइड्रो कर्पोरेशनका तर्फबाट वाङ हुवाले हस्ताक्षर गरे ।

सिनो हाइड्रोले सिएमसीले काम गर्दागर्दै छाडेको अम्बाथान, ग्याल्थुम र सिन्धुको कूल १ दशमलव ४ किलोमिटर सुरुङको बाँकी सबै काम सम्पन्न गर्नुपर्नेछ । सम्झौताअनुसार सिनो हाइड्रोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार गर्ने जिम्मा लिएको छ । यस्तै स्थानीय ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनःनिर्माण, क्याम्पको मर्मत सुधारलगायतका काम गर्नुपर्छ ।

खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सिनोसँग आज बाँकी काम गर्ने विषयमा सम्झौता भएको जानकारी दिए । यस्तै बाँध निर्माणतर्फको सम्झौता पनि केही दिनभित्रै गर्ने तयारी भएको छ । बाँधतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्ग लगायतका काम गर्नुपर्नेछ ।

चिनियाँ कम्पनीले ठेक्का पाउनुभन्दा पहिल्यै आयोजनास्थलको स्थलगत निरीक्षण गरी आवश्यक समन्वय गरिदिन सरकारसँग आग्रह गर्दै आएको छ । स्म्झौता भएलगत्तै आयोजना स्थलमा परिचालन भएर काम शुरु गर्ने विश्वाससमेत चिनियाँ कम्पनीले दिलाएको छ ।

विशेष गरी नेपालको जलविद्युत् आयोजनामा प्रभावकारी काम गरेको भनेर प्रशंसा पाएको सिनो हाइड्रोसँगको सम्झौता पछि मेलम्ची खानेपानी आयोजनाले गति लिने विश्वास मन्त्रालयले लिएको छ । सिनो हाइड्रोले निर्माणाधीन सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक निर्माण समयमै सम्पन्न गर्नेगरी कार्यसम्पादन गरेको थियो । नेपाल विद्युत् प्राधिरकणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत् आयोजनाको पनि भौतिक निर्माणको ठेक्का पाएको छ ।

सिएमसीले अलपत्र पारेपछि सरकारले विशेष निर्णय गरेर बाँकी रहेको काम १० वटा प्याकेजमा सक्ने गरी विभाजन गरेको छ ।

सोही क्रममा आज सिनो हाइड्रोसँग सम्झौता भएको हो । सम्झौताअनुसार निर्माण पछिको एक वर्षसम्म सुरुङको मर्मतसम्भार तथा आवश्यक अनुगमनसमेत सिनो हाइड्रोले नै गर्नुपर्नेछ ।

खानेपानी मन्त्रालयले राष्ट्रिय आवश्यकता र काठमाडौँवासीको स्वच्छ खानेपानी पिउने अपेक्षालाई मध्यनजर गरेर समयमै काम गर्न सिनो हाइड्रोलाई आग्रह गरेको छ । सरकारले आवश्यक तयारी गरी जनशक्ति, प्राविधिक उपकरण तथा अन्य व्यवस्थापन गरेर तत्काल काम थाल्नसमेत चिनियाँ कम्पनीलाई आग्रह गरेको छ ।

सरकारले शान्तिसुरक्षा तथा अन्य समन्वयको काममा कुनै चिन्ता नलिनसमेत निर्माण व्यवसायीलाई आश्वस्त बनाएको छ । यस्तै मन्त्रालयले सिएमसीबाट पैसा लिन बाँकी रहेका स्थानीय ठेकेदार तथा सामान ढुवानीकर्ताको माग सम्बोधन गर्ने प्रयाससमेत गरेको छ । खानेपानी मन्त्री बीना मगरले सबै प्रकारको समस्या समाधान गर्ने र आयोजनामा अब कुनै प्रकारको ढिलाइ हुन नदिने प्रतिबद्धता जनाइसकेकी छन ।

मन्त्रालयले ठूला कामका लागि सिनो हाइड्रोलगायतका जिम्मा दिँदा बाँकी रहेका आठ वटा अन्य प्याकेजमा भने स्थानीय ठेकेदारलाई संलग्न गराएको छ । त्यसबाट निर्माणको ज्ञान हस्तान्तरण तथा स्वदेशी कम्पनीबाटै काम गराउन सकिन्छ भन्ने विश्वास प्राप्त गर्ने अपेक्षा गरिएको छ । सिएमसीले छाडेपछि गत पुसदेखि अलपत्र परेको आयोजनाले अब भने गति लिने विश्वास पैदा भएको छ । खानेपानी मन्त्रालयका प्रवक्ता शाक्यले आयोजनाले गति विश्वास व्यक्त गरे।


Share on:


Comments