×

डेढ दर्जन हाइड्रोपावरको शेयरमूल्य एक सय भन्दा तल रहेको बेला ग्रीनलाइफले आईपीओ बिक्रीमा ल्याउँदै

Note Bazar १९कार्तिक, २०७६, मंगलवार / Nov 05, 2019 21:51:pm

धितोपत्र बजारमा करिब तीन दर्जन जलविद्युत् कम्पनीको शेयरमूल्य ओरालो लागेर एक सय रुपैयाँभन्दा तल झरिरहेको बेला ग्रीनलाइफ हाइड्रोपारले सर्वसाधारणमा साधारण शेयर बिक्रीमा ल्याउने भएको छ।

कम्पनीले गराएको रेटिङमा साधारण शेयर बिक्री गर्न मिल्ने गरी आफ्नो स्थान सुरक्षित गरेको छ। नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई साधारण शेयर बिक्री गर्न नदिने नियम बनाएको छ।

रेटिङ कम्पनीले गर्ने विश्लेषण अनुसार ग्रेड एक प्राप्त गर्ने संस्था अब्बल मानिन्छ भने ग्रेड पाँच प्राप्त गर्ने संस्था आर्थिक रुपमा कमजोर मानिन्छ। केयर नेपालले गरेको रेटिङमा सो कम्पनीको शेयरले ‘केयर नेपाल आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधार रहेको बुझाउँछ।

ग्रीनलाइफ हाइड्रोपारले यसअघि नै आयोजना प्रभावित दोलखा जिल्लावासीलाई साधारण शेयर बिक्री गरिसकेको छ। कम्पनीले आम सर्वसधारणका लागि साधारण शेयर बिक्रीको तयारी गरेको छ।

नेपाल धितोपत्र बोर्डमा दिएको आवेदनअनुसार कम्पनीले कूल ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्री गर्नेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्दा नबिकेको कूल १६ लाख ९६ हजार कित्तासमेत आम सर्वसाधारणलाई बिक्री गर्ने तयारी छ।

कम्पनीले २५ मेगावाट क्षमताको खानी खोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। आयोजना नदी प्रवाही हो। आयोजनाको कूल लागत ६ अर्ब ८८ करोड रहेको छ।



Share on:


Comments