नेपाल र भारत सीमा विवादका विषयमा छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान

Note Bazar २२कार्तिक, २०७६, शुक्रबार / Nov 08, 2019 19:39:pm

नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लागेका हुन ।

“प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल गर्न बैठक आह्वान गर्नुभएको हो”, सल्लाहकार डा अर्यालले भने । बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायतका राजनीतिक दल, पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल भारत सीमाबारे जानकारहरुको सहभागिता हुनेछ ।

भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्शामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग पारेको भन्दै विरोध भइरहेको छ । सत्तारुढ नेकपा निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियू, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस निकटको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले सीमाका बारेमा भारतले सार्वजनिक गरेको नक्शाको विरोध गरिरहेका छन् ।

आज पनि भारतीय दूतावास नजिक विभिन्न समूहले प्रदर्शन गर्दै विरोध गरेका थिए । परराष्ट्र मन्त्रालयले यही कात्तिक २० गते प्रेस विज्ञप्तिमार्फत कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारिसकेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो –कालापानी क्षेत्र नेपालको भूभाग हो ।


Share on:


Comments