भ्रमण वर्ष २०२० को शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिने

Note Bazar २६कार्तिक, २०७६, मंगलवार / Nov 12, 2019 18:44:pm

सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउनेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिए।

प्रदेश ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष, २०२० पूर्वतयारी भेला’ मा मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीबारे जानकारी दिएका हुन ।

उनले भने, “भ्रमण वर्षको व्यापक तयारी भइरहेको छ, भ्रमण वर्ष सचिवालयले प्रदेश सरकार र विदेशस्थित सबै कूटनीतिक नियोगलाई पत्राचार गरिसकेको छ । हामी (सरकार) ले ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा पठाएका छौँ, विदेशका चर्चित कलाकारको पनि सहभागिता रहनेछ । सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथ निजी क्षेत्रको सक्रियतामा भ्रमण वर्षलाई भव्यरूपमा शुभारम्भ गरिनुपर्छ ।”

सन् २०२० को जनवरी १ तारिखका दिन नेपालमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । विदेशस्थित सबै कूटनीतिक नियोगमा जनवरीको पहिलो साताभित्र भ्रमण वर्षको उद्घाटनको कार्यक्रम तय गरिएको पर्यटनमन्त्री भट्टराईले जानकारी दिए ।

भ्रमण वर्ष अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको छ । सङ्घीय सरकार मात्र नभई प्रदेश सरकार र स्थानीय सरकारले पनि भ्रमण वर्षलाई सफल बनाउन गन्तव्य प्रवद्र्धन, पूर्वाधार विकास र सेवा स्तरीकरणलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।

सम्भवतः भ्रमण वर्षको उघाटन समारोह दशरथ रङ्गशालामा गरिनेछ । शुरुमा टुँडिखेलमा गर्ने योजना रहे पनि रङ्गशाला निर्माण सकिएको र व्यवस्थित हुने भएकाले सोही स्थानमा भ्रमण वर्षको उद्घाटन गर्ने गरी भ्रमण वर्ष सचिवालयले तयारी गरिरहेको छ ।

भ्रमण वर्ष सचिवालयका बच्छुनारायण श्रेष्ठले भ्रमण वर्षको शुभारम्भसहित भ्रमण वर्ष अवधिमा गरिने काम डिसेम्बर १५ भित्र सार्वजनिक गर्नेगरी तयारी थालिएको बताए । “भ्रमण वर्षको उद्घाटन स्थल र प्रमुख अतिथिको विषयमा टुङ्गो लागि सकेको छैन । दशरथ रङ्गशाला तयारी अवस्थामा हुने हुँदा सोही स्थानमा उद्घाटन समारोह हुन्छ, उद्घाटनका लागि राष्ट्रपति या प्रधानमन्त्री कसलाई बोलाउने भन्नेबारे छलफल गरी निर्णयमा पुग्छौँ,” उनले भने ।

उनले भ्रमण वर्ष अवधिमा २० लाख पर्यटक सङ्ख्यामा मात्र नभई यसलाई आधार वर्ष बनाएर एक दशकसम्म भ्रमण वर्ष मनाएर सङ्ख्यासँगै गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

त्यसो त पर्यटनमन्त्री भट्टराई पनि भ्रमण वर्षमा २० लाख पर्यटक पुग्ने आधार तयार भइसकेको तर त्यही नै अन्त्य नभएको बताउछन । उनले भने, “अहिले विमानस्थल र स्थल मार्गबाट प्रवेशाज्ञाधारी पर्यटकको मात्रै गणना भएको छ, प्रवेशाज्ञा नलिने भारत, चीन तथा तेस्रो मुलुकका पनि धेरै पर्यटक छन्, तिनको हिसाब गर्ने हो भने विभिन्न सिलसिलामा आउने विदेशी करिब ५० लाख पुग्छन् । त्यसैले २० लाख ठूलो कुरा होइन । पाँच वर्षपछि प्रत्येक वर्ष ३५ लाख पर्यटक आउने वातावरण बनाउनेतिर ध्यान जान जरुरी छ ।”

पन्ध्रौँ पञ्चवर्षीय योजनाले पर्यटनलाई राज्यको प्रमुख प्राथमिकतायुक्त क्षेत्रका रूपमा लिएको र अहिलेको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको तीन प्रतिशत योगदानलाई उक्त योजना अवधिभर १० प्रतिशत पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको मन्त्री भट्टराईको भनाइ थियो ।

 


Share on:


Comments