त्रिविका विद्यार्थीलाइ एक लाख उपचार खर्च

Note Bazar २१मंसिर, २०७६, शनिबार / Dec 07, 2019 15:07:pm

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु आर्थिक वर्ष विद्यार्थीको उपचारमा एक लाखरुपैयाँ सम्मको खर्च ब्यहोर्ने भएको छ । त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च एक लाखरुपैयाँसम्म उपलब्ध गराइने रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।

यसअघि त्रिविले प्रतिविद्यार्थी ५० हजारसम्मको खर्च गर्ने गरेको थियो । त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरी अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट उक्त सुविधा दिने जनाएको छ ।

ती अस्पतालसँग त्रिविले उपचार खर्चका लागि एक लाखसम्म खर्चमा विद्यार्थीले बेहोर्नु नपर्ने गरी सम्झौता गरेको छ । देशभरि आङ्गिक क्याम्पसमा अध्ययन गरेका विद्यार्थीले उक्त सुविधा पाउने छन । सम्झौताअनुसार ती अस्पतालले प्रयोगशाला परीक्षण, शै्या शुल्कमा प्रति विद्यार्थीलाई एक लाख रुपैयाँसम्म उपचार खर्च व्यहोर्ने छन । उनले यो व्यवस्था चालु आर्थिक वर्षमा अन्य क्याम्पस र अस्पतालसँग पनि सम्झौता गर्ने तयारी गरिरहेको जानकारी दिए ।

त्रिवि सभा सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रवहादुर शाहीले क्याम्पसको सिफारिसमा गएका विद्यार्थीले उक्त सुविधा पाउने बताए । उनले आफूहरुले उपचार खर्च पूर्ण निःशुल्क गराउन माग गरेको समेत बताए । उनका अनुसार क्याम्पसले विद्यार्थीबाट उपचार खर्च भनेर प्रतिविद्यार्र्थी ५०० शुल्क लिँदै आएको छ । त्रिविले आव २०७३÷७४ देखि विद्यार्थीको स्वास्थ्य उपचार कोष खडा गरेर विद्यार्थीलाई उपचारमा सहयोग गर्दै आइरहेको छ ।

त्रिविसँग सम्बन्धन लिएका क्याम्पसले पनि १० प्रतिशत पूर्ण निःशुल्क छात्रवृत्ति दिनुपर्ने भएको छ । त्रिवि सभाले सम्बन्धन लिएका क्याम्पसले पनि छात्रवृत्ति दिनुपर्ने निर्णय गरेको रजिष्ट्रार उप्रेतीले जानकारी दिए ।

त्रिविमा करीब ६२ आङ्गिक र एक हजार सम्बन्धन प्राप्त क्याम्पस रहेका छन । यसअघि त्रिविका आङ्गिक क्याम्पसलाई मात्र छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो । यसैगरी त्रिविले छात्रवृत्तिका लागि तीन करोड ७१ लाख ४६ हजार रुपैयाँ छुट्याएको छ ।(रासस)


Share on:


Comments