ट्रेजरी बिल बिक्रीबाट १० अर्ब २५ करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीमा ल्याउने भएको छ। बैंकले असोज २७ गते सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये ९१ दिने अवधिका लागि ८ अर्ब रुपैयाँको छ । २ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिन अवधिको छ । बैंकले बिक्री गर्न लागेको ९१ दिने अवधिको ट्रेजरी बिल आगामी पुस २९ गते र १८२ दिन अवधिको २०७७ बैशाख २ गते परिपक्व हुनेछ।

यस्तै बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। असोज २८ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

यसअघि बैंकले यही असोज १६ गते पनि २ अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो। जसमा ९१ दिन अवधिको १० करोडको ट्रेजरी बिलमा ४.४२९८ डिस्काउन्ट दर कायम भएको थियो भने ३६४ दिने अवधिको १ अर्ब ८९ करोड ८६ लाख ८० हजारको ट्रेजरी बिलमा ४.५४३५ डिस्काउन्ट दर कायम भएको थियो।

ट्रेजरी बिल के हो ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

निष्काशन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोलकबोल गर्न सकिन्छ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा समेत प्रयोग गर्न सकिन्छ । ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ ।

ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ।

ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ। ट्रेजरी बिलको बोलकबोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ ।

ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउँदैनन्। अप्रतिस्पर्धीको रूपमा बोलकबोलमा माग रकममात्र उल्लेख गर्नुपर्दछ, मूल्य उल्लेख गर्नुपर्दैन। प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा नै अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ। एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोलपत्र भने पेश गर्न पाइदैन ।

ट्रेजरी बिलको बोलकबोल गर्दा लगानीकर्ताले बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नुपर्दछ । नेपाल राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम राष्ट्रऋण व्यवस्थापन विभागमा तोकिएको समयभित्र ट्रेजरी बिल आवेदन खातामा जम्मा गरी भौचर यस विभागमा पेश गर्नुपर्दछ र बोलकबोलमा सफल भए पश्चात बुझाउनु पर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्र ऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नुपर्दछ ।

नेपाल राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आफ्नो यस बैंकमा रहेको खातामा मौज्दात कायम गर्नुपर्दछ । बोलकबोलमा असफल यस बैंकमा खाता नहुने बोलवालाको अर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ।

प्रकाशित मिति: २४ असाेज २०७६, शुक्रबार  १३ : ३६ बजे