×

तनहुँ जलविद्युत् आयोजना: विद्युत् गृहका लागि ‘केवल टनेल’ निर्माण शुरु

–कृष्ण न्यौपाने/रासस
३माघ, २०७६, शुक्रबार / Jan 17, 2020 17:00:pm

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा 'केवल टनेल' निर्माणको काम शुरु गरिएको छ । एक सय चालिस मेगावाट क्षमता रहेको आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि 'केवल टनेल' खन्ने काम शुरु गरेको हो ।

तनहुँ जलविद्युत् आयोजनाका प्रबन्ध सञ्चालक प्रदीप थिकेको उपस्थितिमा सिनो हाइड्रोले बिहीबारदेखि सुरुङ खन्ने कामको शुरुआत गरेको आयोजनाका साइट इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

सिनोले झापुटारमा पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । सो हाइड्रोले उक्त ठाउँमा आवास, कार्यालय, क्रसर प्लान्ट र पहुँच मार्ग निर्माण गरेको छ । दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र तीन अर्ब ८३ करोड १४ लाख ९मूल्य अभिवृद्धि कर बाहेक० मा सम्झौता भएको थियो ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गत कामका लागि पुनः बोलपत्र आह्वान भएकामा एशियाली विकास बैङ्क (एडिबी) ले उक्त बोलपत्र रद्द गरेको छ । पहिलो प्याकेजको ठेक्काका लागि आयोजनाले गत वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चार कम्पनीले बोलपत्र पेश गरेका थिए । तर एडिबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको छ ।

एडिबीले चार कम्पनीको प्रस्तावलाई रद्द गरिदिएपछि अब नयाँ ठेक्का प्रक्रिया शुरु गर्न कम्तीमा छ महिना लाग्ने बताइएको छ । बोलपत्र रद्द भएपछि आयोजनाको निर्माण अवधि पनि पछाडि धकेलिएको छ । आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युत् गृहको पहुँच मार्ग निर्माणका लागि १५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण भइकेको छ । बाँधस्थलको पहुँच मार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रका लागि एक हजार २३० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ । बाँधस्थलको पहुँच मार्गका लागि थप १० र जलाशय क्षेत्रका लागि थप पाँच प्रतिशत जग्गा अधिग्रहण गर्न बाँकी छ ।

पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैङ्क (एडीबी) र युरोपेली लगानी बैक (इआइबी) को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायत संरचना निर्माण गर्नेछ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृत् गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । सोमध्ये एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

आयोजनाको विद्यृत् गृह निर्माणका लागि २८८ मिलियन डलर, प्रशारणलाइन तथा सवस्टेशन निर्माणका लागि १५ मिलियन डलर, ग्रामीण विद्युतीकरणका लागि आठ मिलियन डलर, जग्गा प्राप्ति तथा पुनःस्थापनाका लागि ३० मिलियन डलर, वातावरण व्यवस्थापनका लागि २१ मिलियन डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि ४६ मिलियन डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि २५ मिलियन डलर खर्च हुने अनुमान छ ।

यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र सो कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण विसं २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

व्यास नगरपालिका भूकम्पको जोखिममा

सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका भूकम्पको जोखिममा रहेको छ । भूकम्प प्रविधि राष्ट्रिय समाजसँगको सहकार्यमा गरिएको अध्ययनबाट नगरपालिका भूकम्पको जोखिममा रहेको देखिएको हो । नगरपालिकाका १४ वडामध्ये वडा नं १, ३, १२, १३ र १४ सबैभन्दा बढी जोखिममा रहेको नगरपालिकाका इञ्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए । नगरपालिकाले विसं २०६० र २०७४ मा भूकम्पीय जोखिमको अध्ययन गरेको थियो ।

हाल नगरपालिका २४८ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । विसं २०६० मा अध्ययन गर्दा नगरक्षेत्रभित्र छ हजार र विसं २०७४ मा २० हजार घरधुरी रहेको थियो । अध्ययन अनुसार सात रेक्टरको भूकम्प गएको खण्डमा नगरपालिकामा १५० को मृत्यु हुने र तीनदेखि चार सयसम्म मानिस घाइते हुने अनुमान गरिएको इञ्जिनीयर मूलले बताए । साथै भूकम्पबाट ५०० घर भत्किने अनुमान छ ।

भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधात्मक घर निर्माणलाई नगरपालिकाले जोड दिएको छ । भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि नगरपालिकाले विसं २०६८ देखि भवन आचारसंहिता लागू गरेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि नगरपालिका सदैब क्रियाशील रहेको र नगरक्षेत्रभित्र बन्ने घर सुरक्षित बनाउन कडाइ गरिने बताए ।

नगरपालिकाले भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि डकर्मीलाई तालिम दिने गरेको छ । यस वर्ष पनि ३८ डकर्मीलाई भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि तालिम दिइएको नगर उपप्रमुख मीरा जोशीले जानकारी दिए । नगरपालिकाले गत पुस २० गतेदेखि २७ गतेसम्म डकर्मीलाई तालिम प्रदान गरेको थियो ।



Share on:


Comments