तीब्र उतार चढावपूर्ण रहेको बजार सकारात्मक लयमा बन्द, कारोबार ४८ करोडले घट्यो

-नोटबजार संवाददाता।
काठमाण्डौं।
३चैत्र, २०७६, सोमबार / Mar 16, 2020 18:05:pm

शेयर बजार परिसूचक नेप्सेमा सोमबार तीब्र उतारचढाव देखिएपनि बजार सकारात्मक लयमा पुगेर बन्द भएको छ।  सोमबार १ हजार ३१३ बिन्दुमा खुलेको बजार सुरुवाति आधा घण्टा अवधिमा २१ अंकले घटेर १ हजार २९२ बिन्दुमा झरेको थियो। यस्तै सबा दुई बजे आजकै अधिकतम बिन्दु १ हजार ३३४ बिन्दुमा पुगेपनि अन्तिम समयमा आइपुग्दा ३.३५ अंकले बढेर १ हजार ३१६ दशमलव ३९ बिन्दुमा पुगेर बन्द भएको छ।

सोमबार १८० कम्पनीको १ अर्ब ६१ करोड ५३ लाख रुपैयाँभन्दा बढीको शेयर खरीद बिक्री भएको छ। आइतबारको तुलनामा कारोबार रकम ४८ करोड रुपैयाँले घटेको हो। यसदिन ४१ लाख ९१ हजार ४१५ कित्ता शेयर १६ हजार २५१ पटक खरीद बिक्री हुँदा ५६ कम्पनीको शेयरमूल्य घटेको छ भने ९० कम्पनीको शेयरमूल्य बढेको छ। सोमबार कूल बजार पूँजीकरण १६ खर्ब ८३ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ। 

कारोबारमा आएका उपसमूहका सूचक मिश्रीत देखिएका छन्। १२ समूहमध्ये होटल, उत्पादन र म्युचुअल फण्ड सहित ३ ऋणात्मक भएको छ भने बाँकी ९ वटामा बढोत्तरी भएको छ। लघुवित्तको सूचक सबैभन्दा धेरै १.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा, जीबन बीमा, अन्य, वित्तको सूचक पनि ०.५ प्रतिशत बढीले सुधारिएको छ। बैंकिङ्ग, ब्यापार, विकास बैंक, र जलविद्युत सूचक पनि सामान्य बढेका छन्।

कारोबार रकममा नेपाल लाइफको अग्रता सोमबार पनि कायमै रहेको छ । कम्पनीको १५ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार हुँदा एनआइसी एसिया बैंकको पनि १२ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको छ।

एनएमबि बैंक,हिमालय डिष्टिलरी, नबिल बैंक, नागरिक लगानी कोष, नेको इन्स्योरेन्स, ग्लोबल आईएमई, शिवम् सिमेन्टस र छिमेक लघुवित्त पनि शिर्ष कारोबार गर्ने दश कम्पनीमा समेटिएका छन्। दशौं ठूलो कारोबार भएको छिमेकको ३ करोड २० लाखको शेयर कारोबार भएको हो।
यस दिन सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ। यस्तै जनउत्थान सामुदायीक लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, गुँरास लघुवित्त, मञ्जुश्री फाइनान्स र मल्टिपर्पस फाइनान्सको शेयरमूल्य पनि ५ प्रतिशत धेरैले बढेको छ।

उता युनिलिभर नेपालको भाउ सबैभन्दा धेरै ५.८७ प्रतिशतले घटेको छ । नेपाल सेवा लघुवित्त, माउन्टेन हाइड्रोपावर, राधी विद्युत कम्पनी, महिला सहयात्रा लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड १ र बेष्ट फाइनान्सको शेयरमूल्य ३ प्रतिशत बढीले अवमूल्यन भएको छ।



Share on:


Comments