कोरोना भाइरसका कारण विश्व बजारमा अढाई करोड व्यक्तिकोको रोजगारी जोखिममा

Note Bazar ८चैत्र, २०७६, शनिबार / Mar 21, 2020 18:52:pm

तिब्र गतिमा संक्रमण फैलिँदै गरेको कोरोना भाइरसका कारण विश्व बजारमा अढाई करोडभन्दा बढीको रोजगारी जोखिममा परेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्र संघका अनुसार भाइरस संक्रमणका कारण विश्वको अर्थतन्त्रमा परेको नकरात्मक असरले यस्तो अवस्था निम्तिने देखिएको हो ।

राष्ट्र संघको प्ररम्भिक मूल्यांकलन प्रतिवेदनका अनुसार अन्तर्राष्ट्रियस्तरमा रोजगारीका सम्बन्धमा समन्वय हुन सकेको खण्डमा भने यो संख्यामा कमी आउने छ । यसका लागि इन्टरनेशनल लेबर अर्गनाइजेशन (आईएलओ) ले तत्काल आपसी समन्वयका साथै उच्चस्तरीय कदम चाल्नु पर्ने राष्ट्र संघले औंल्याएको छ ।

राष्ट्र संघले रोजगारी जोखिमको अवस्था न्युनिकरणका लागि मुलभुत रुपमा तीन विषयमा ध्यान केन्द्रित गर्नु पर्ने सुझाव समेत दिएको छ । कार्यालय तथा कार्यस्थलमा कर्मचारी र कामदारको सुरक्षा, अर्थ व्यवस्था र रोजगारीलाई प्रोत्साहन गर्नु पर्ने तथा रोजगारी र आम्दानीलाई बढावा दिनु पर्नेमा राष्ट्र संघले सुझाव दिएको छ ।

उता आईएलओले पनि रोजगारीको जोखिम न्युनिकरणका लागि सामाजिक सुरक्षा, शर्ट टर्म वर्क, पेड लिभका साथै रोजगारदाता प्रतिष्ठानलाई अन्य अनुदान तथा सहुलियत, कर छुट, लगायत विषयलाई मध्यनजर गर्नु पर्नेमा जोड दिएको छ ।

आइएलओले पनि राष्ट्रसंघको विबरण सरह अढाई करोडको रोजगारीलाई कोरोना भाईरसको संक्रमणले जोखिममा पारेको भन्दै आर्थिक र श्रम संकट न्युनिकरण अपरिहार्य रहेको जनाएको छ ।

प्रतिवेदनका अनुसार बेरोजगारी तथा अल्प रोजगारीलाई कोरोनाको संक्रमणले अझै चरम विन्दुतर्फ धकेल्नेछ । भाइरसको प्रकोपका कारण काम गर्ने समयको अवधिमा ह्रास आउनुका साथै पारिश्रमिकमा समेत कटौती हुने भएकाले यो अवस्था झनै विकराल बन्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

विकाशशील राष्ट्रहरुमा सामान तथा आवतजावतमा आएको कमीले स्वरोजगारहरु पनि कोरोनाको नकरात्मक प्रभावले असरमा पर्ने प्रतिवेदनले औंल्याएको छ ।


Share on:


Comments