भारतीय शेयर बजारमा सुनामी, अस्वभाविक घटेपछि सर्किट

-नोटबजार संवाददाता।
काठमाण्डौं।
१०चैत्र, २०७६, सोमबार / Mar 23, 2020 17:11:pm

विश्वभरि तीब्र गतिमा फैलिएको कोरोना भाइरसले भारतीय शेयर बजारमा सोमबार सुनामी नै निम्त्याएको छ। भारतीय शेयर बजारमा आएको अस्वभाविक गिरावट नियन्त्रण गर्नका लागि स्टक एक्सचेञ्जहरुले सर्किटको प्रयोग गरेर बजारलाई नियन्त्रण गर्नु प¥यो।

सोमबार भारतीय शेयर बजारका परिसूचकहरु १३ प्रतिशतसम्मले घटेका छन्। सोमबार भारतीय बजारमा करोबार सुरु भएको एक घण्टामै लगानीकर्ताको करिब १० लाख करोड भारीतय रुपैयाँ गुमेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। सोमबार आएको गिरवाट भारतीय शेयर बजारमा आएको यस वर्षको १० औं ठूलो गिरावट हो।

यसभन्दा अघि यो वर्ष बम्बई स्टक एक्सचेन्ज सेनसेक्स परिसूचक २ हजार ८०० अंकले घटेको थियो। तर, सोमबार कारोबार सुरु भएको एक घण्टामै सेनसेक्स परिसूचक १० अंक भन्दा धेरैले घटेपछि गिरावटलाई नियन्त्रण गर्न सर्किटको प्रयोग भएको छ। भारतीय शेयर बजारमा घट्दो क्रममा लागेको सर्किट करिब १२ वर्षपछि हो। यसभन्दा अघि सन् २००८ को आर्थिक मन्दीको समयमा भारतीय शेयर बजार यसैगरि घटेको थियो ।

सोमबार सेनसेक्स कारोबार सुरु हुने बित्तिकै १० प्रतिशतले घटेपछि सर्किट लगाएर ४५ मिनेटका लागि कारोबार स्थगन भएको थियो। त्यसपछि खुलेको शेयर कारोबारमा सेन्सेक्स करिब १६ प्रतिशतसम्मले घटेको थियो।

भारतीय पूँजी बजार नियामक सेबीले सर्ट सेलिङ्गमा कडाई गरेपछि शेयर बजार प्रभावित भएको हो। कोरोनासँगै विश्व अर्थतन्त्र समेत नकारात्मक हुने डरका साथै भारतको सम्पूर्ण आर्थिक क्रियाकलाप समेत प्रभावित भएपछि शेयर लगानीकर्ता झनै त्रसित हुँदा बजारमा उच्च गिरावट आएको हो। त्यसका साथै अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताले पनि शेयर बिक्री गरेर पैसा झिकेका कारणले बजार समग्र बजार अस्वभाविक रुपमा घट्दो क्रममा देखिएको हो।

विगत केही दिन देखि निरन्तर उच्च अंकले घटेको भारतीय शेयर बजार परिसूचक सेनसेक्स ३९३४.७३ अंकले घटेको छ। त्यसैगरी नेशनल स्टक एक्सचेञ्ज सूचक निफ्टी पनि १ हजार १३५ दशमलव २० अंकले घटेको छ।

विश्वभरिका पूँजी बजार निरन्तर ओरोलामा नै रहेका छन्। त्यसले पनि भारतीय शेयर बजार थप प्रभावित भएको हो। सोमबार ३ हजार ९३४ दशमलव ७३ अंकले घटेको सेन्सेक्स २५ हजार ९८१ दशमलव २४ अंकमा पुगेको छ भने निफ्टी १ हजार १३५ दशमलव २० अंकले घटेर ७ हजार ६१० दशमलव २५ बिन्दुमा झरेको छ।

सोमबार सेन्सेक्स तथा निफ्टीमा सूचीकृत अधिकाशं कम्पनीको शेयरमूल्य घटेको छ। सोमबार शेयर बजारमा सूचीकृत बैंकिङ्ग क्षेत्रको शेयर मूल्यमा उच्च गिरावट आएको छ।


Share on:


Comments