×

लकडाउन उलङ्घन गर्ने १३७ सवारीसाधन नियन्त्रणमा

-नोटबजार संवाददाता।
काठमाण्डौं।
१३चैत्र, २०७६, बिहीबार / Mar 26, 2020 10:35:am

कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने १३७ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आज बिहान ९ बजेसम्म उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

नियन्त्रणमा लिइएकोमध्ये दुईपाङ्ग्रे ११२ र चारपाङ्ग्रे २५ रहेका महाशाखाले जनाएको छ ।

घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उनले उल्लेख गरे। अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए ।

प्रहरीले बुधबार मुलुकका विभिन्न ठाउँबाट १०६३ सवारीसाधन नियन्त्रणमा लिएको थियो । जसमध्ये ९२९ वटा दुईपाङ्ग्रे र १३४ वटा चारपाङ्ग्रे रहेका महाशाखाले जनाएको छ ।

सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।



Share on:


Comments