‘लकडाउन’को समयमा मोबाइल एपमार्फत घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने

Note Bazar १४चैत्र, २०७६, शुक्रबार / Mar 27, 2020 19:03:pm

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् ।

लकडाउनका कारण घरमै बस्नु परेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ ।

हाम्रो डक्टर नामक मोबाइल एप डाउनलोड गरि विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्य रुपमा परामर्श लिने सकिने एप्लिकेशनका प्रमुख कार्यकारी अधिकृत उद्धवराज भेटुवालले जानकारी दिए ।

सन् २०१६ देखि सञ्चालनमा आएको एपले हाल अनलाईन परामर्श सेवा, अस्पतालमा टिकट बुकिंग गर्ने लगायत थुप्रै स्वास्थ्य सेवामा सहजीकरण गर्दै आएको छ । एण्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेशनमा परामर्शका लागि सयौं विशेषज्ञ चिकित्सकहरु उपलब्ध रहेको भेटुवालले जानकारी दिए । एपका साथै हाम्रो डक्टर डटकममा पनि यो सुविधा रहेको उनले बताए ।

मोबाइल एप्लिकेशनमा उपलब्ध चिकित्सकहरुसँग सःशुल्क र निःशुल्क दुवैखालको परामर्श सेवा लिन सकिन्छ । परामर्श सेवामा बिरामीले आफ्ना जिज्ञासा व्यक्तिगत रुपमा गोप्य ढंगले पनि सोध्न सक्छन् । परामर्शको क्रममा एप प्रयोगकर्ताले डाक्टरलाई एपबाटै रिपोर्ट र फोटो एवं भिडियो समेत देखाउन सक्छन् । एप्लिकेशनबाट विस्तारै भिडियो परामर्शको सेवा पनि लिन सकिने बताइएको छ ।

एपबाट लिन मिल्ने सःशुल्क परामर्शका लागि सबैजसो डिजिटल पेमेन्ट गेटवेबाट शुल्क तिर्न सकिन्छ । हाम्रो डक्टरमा ईसेवा, फोन पे, खल्ति, आइएमई पे, ईबैंकिगबाट समेत महशुल भुक्तान गर्न सकिन्छ । यसका अलावा विदेशमा रहनेहरुले क्रेडिटकार्ड एवं मास्टरकार्डबाट पनि भुक्तानी गर्नसकिन्छ ।

कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भएका बेला एप्लिकेशनले आफ्ना सेवाहरुमा २० प्रतिशत छुटसहितको कुपनकार्ड वितरण गरिरहेको छ । सो कोड हाम्रो डक्टरको फेसबूक पेजमा पाउन सकिन्छ ।


Share on:


Comments