संस्थामा व्यक्ति होईन, संस्थागत सुशासन, नीति, विधि र योजना महत्वपुर्ण हुन्छ- मनोज ज्ञवाली

-मनोज ज्ञवाली
१६बैशाख, २०७७, मंगलवार / Apr 28, 2020 08:02:am

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा मेरो कार्यकाल आज बैशाख १५ गतेसम्म रह्यो । दुई वर्ष कार्यकाल पूरा हुनुसंगै बैंकबाट विदा हुने समाचारहरु प्रकाशित भएपछि बैंकका साथीहरु तथा मेरा शुभचिन्तक हरुको अनगिन्ती फोनहरु आएर एकछिन पनि काम गर्न नपाएको अवस्था सिर्जना भइ मैले फोन नै अफ गरेको थिए । बिभिन्न सञ्चारका माध्यामबाट समेत उतिकै शुभेच्छा प्राप्त गरेको छु । यति धेरै माया र सदासयताको लागि सबै प्रति आभार व्यक्त गर्न चाहन्छु ।

म २०७३ असारमा ज्योति विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकसंग जोडिदै गर्दा बैकको २४ वटा शाखा, ९८ करोड पुँजी, ७.५ अर्ब निक्षेप र ६ अर्ब कर्जा थियो भने हामी दुई सय हाराहारी कर्मचारी थियौं । हाल बैंकको १०५ वटा शाखा, ३५० करोड पुँजी ३४ अर्ब निक्षेप र २९ अर्ब कर्जा छ भने ८ सय भन्दा बढि कर्मचारी साथीहरु बैंकमा हुनुहुन्छ । त्यति बेला १५ करोड रहेको मुनाफा गत वर्ष नै ५३ करोड भन्दा माथी रह्यो र बैंकले अहिलेसम्मकै सबैभन्दा बढि लाभांस (१२.७५) प्रतिशत वितरण गर्न सफल रह्यो ।

सम्पत्तिको गुणस्तर अझै परिस्कृत रह्यो १.३९ प्रतिशत रहेको निस्कृय कर्जा, कर्जाको यस्तो विस्तारमा पनि अझै घटेर ०.५४ प्रतिशतमा सिमीत रह्यो । धैरै प्रोडक्टहरु थप्यौं, नीतिहरु बनायौं । आइटी सेक्युरीटीमा काम गर्यो। बैंकलाई प्रविधिसँग जोड्यौं ।

मैले १.५ वर्ष वर्ष नायब प्रमुख कार्यकारी अधिकृत, ४.५ महिना का.मु. प्रमुख कार्यकारी अधिकृत र २ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरे। र संस्थाको सबै सुचकांकहरु चार वर्ष भन्दा कम अवधिमा धेरै माथी पुगेका छन् । यस बीचमा हामीले अरु तीन वटा क्षेत्रीय स्तरका विकास बैंकहरु प्राप्ति र मर्जर प्रक्रिया सफलता पुर्वक सक्यौं ।

यो समय बैंकिङको लागि धेरै कारणले चुनौती पूर्ण थियो र तरलता अभावको कारण व्यावसाय वृद्धि अझ धेरै चुनौति पूर्ण थियो । मेरा साथीसंगी तथा आफन्तहरुको साथ, नियमनकारी निकायको मार्गदर्शन, मेरा असल सहकर्मीहरुको दिनरात मेहनेत, शेयरधनी र ग्राहकहरुको विश्वास, तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुंवरले बनाईदिएको आधार र संचालक समितिको मार्गनिर्देशन तथा दिएको सिकाईको भुमिका महत्वपुर्ण छ । संगै हामी पुँजी पुर्याउछौं, तिमी काम गरेर अघि बढ भनेर ढुक्क पार्ने संचालक समिति र शेयरधनीको भुमिका ठूलो छ आजको ज्योति हुनुमा । संगै मलाई बेला बेलामा व्यवस्थापनमा के गरौं ? के गरौं हुँदा सल्लाह सुझाव दिने मेरो अग्रज र गुरुहरुको भुमिका त्यतिकै छ । सबै नामहरु मनमा छन् यहां भनिन् । मलाई अलिकति अप्ठ्यारो पर्दा साथ के गरौं ? भनेर सम्झिने नामहरु प्रति आभार । मेरा अग्रज तथा गुरु आदरणिय रत्नराज बज्राचार्य सर प्रति विशेष आभार ।

म प्रमुख कार्यकारी अधिकृतको हैसियतमा अब नरहने भएता पनि मेरा सैंयौ सहकर्मी साथीहरु यहि हुनुहुन्छ । मलाई विश्वास गरेर बैंकमा बस्ने साथीहरु धेरै हुनुहुन्छ । मलाई मेरो सहकर्मी साथीहरुको मर्मस्पर्सी म्यासेज र उनीहरुको फोनमा रोएको आवाजले मलाई अझै जिम्मेवार बनाएको छ । मेरो एउटा अपुरो सपना यो संस्था संगै छ, अनि संस्था एकदमै मजबुत र सहि गतिमा छ भन्ने विश्वास पनि । संस्थामा व्याक्ति होईन, त्यहां भएको संस्थागत सुशासन, नीति, बिधी र योजना महत्वपुर्ण हुन्छ । र यसमा हामीले विश्वास गर्नुपर्छ । हामी ८०२ जना सहकर्मी साथीहरुमा म एक जना जिम्मेवारीमा नरहे पनि बाँकी ८०१ जना बैंक मै हुनुहुन्छ । हामीले संगै देखेको सपना पूरा गर्न लाग्नुहोस र संस्थालाई अब्बल बनाउनुहोस् । सबैले एक अर्कालाई दोष लाएर पन्छिने होईन, आ-आफ्नो जिम्मेवारीमा न्याय गर्ने कोसिष गर्दा संस्था राम्रो हुन्छ । म सबैको भलो चाहन्छु ।

यो बिषम परास्थितीमा नेतृत्वदायी भुमिकाको अझै बढि जरुरी पर्दा नछुट्टिनु हुने भन्ने सुझाब पनि धेरै पाए। र स्विकार गर्दछु पनि तर विश्वास गर्छु । यो निर्णयले संस्थालाई अझै अघि बढ्न मद्दत गर्नेछ। र मेरा साथीहरुले यो ‘परिवर्तन को ज्योति’ लाई अझै चम्काउनु हुनेछ । ‘परिवर्तन’ लाई स्विकार्नु पर्दछ र सकारात्मक हिसाबले बुझ्नुपर्दछ । पक्कै ज्योति अझै राम्रो हुनेछ । हरेक हिसाबले बैंक मजबुत छ र नेतृत्व परिवर्तनले खासै असर पार्दैन । अनि बैंकले पक्कै अझै राम्रो नेतृत्व प्राप्त गर्नेछ भन्ने कुरामा पुर्ण विश्वास छ । काम गर्दै जांदा नियतबस त कहिल्यै गरिन् तर परिस्थिति या भुलबस कसैलाई असहज स्थिति परेको भएमा पनी व्याक्तिगत रुपमा नलिईदिन अनुरोध गर्दछु ।

साथै यो प्रकियालाई नियमित रुपमा बुझेर शंका उपशंकामा संस्थालाई आँच आउने हिसाबले सुचना दिने गर्ने काम कसैले नगरिदिनु हुन समेत अनुरोध गर्दछु। मैले मेरो यस बैंकको हाराहारी चार वर्षे कार्यकाललाई जीवन कै महत्वपुर्ण सफलता र सिकाई को रुपमा लिएको छु। सन्तुष्ट छु । कसैसंग पनि कुनै गुनासो छैन् । मैले सकेको काम गरे, तर धेरै प्राप्त गरें । म संस्था प्रति अत्यन्तै आभारी छु र सम्बद्ध सबैं प्रति । जय ज्योति !!

(ज्योति विकास बैंकका निवर्तमान सीईओ ज्ञवालीले बैंक छाडेपछि व्यक्त गरेको विचार)

 


Share on:


Comments