बुटबल पावरको नाफा २०% ले बढ्यो, लकडाउनले सहायक योजनाका काम रोकियो

नोटबजार संवाददाता।
काठमाडौं।
२८बैशाख, २०७७, आईतवार / May 10, 2020 11:46:am

चालु आार्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बुटबल पावर कम्पनीले खुद नाफा करिब २० प्रतिशतले बढाएको छ । चैत मसान्तसम्मको वित्तीय अवस्थाका आधारमा खुद नाफा बढेको देखिएको हो ।

उता कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडानका कारण कम्पनीले सञ्चालन गरेका अन्य परियोजनाहरुको काम भने प्रभावीत भएको छ ।

आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्षको चैतसम्ममा बुटवल पावरले ८९ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको चैतसम्ममा कम्पनीले ७५ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ६८ करोड ३८ लाख ८२ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा ३५.३५ प्रतिशतले वृद्धि भई ९५ करोड ५७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको मुख्य स्रोत विद्युत बिक्री आम्दानी बढ्दा सञ्चालन नाफासँगै खुद नाफा पनि बढेको हो ।

वित्तीय विवरणमा कम्पनीले बैंक वित्तीय संस्थामा मुद्दती निक्षेपमा राखेको रकम नयाँ आयोजनाहरुमा लगानी गर्दा उसको वित्तीय आम्दानी भने घटेको उल्लेख छ । मुद्दतीमा लगानी घटेसँगै कम्पनीको वित्तीय आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १० करोड ३७ लाखले घटेर २ करोड २१ लाखमा झरेको छ ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २ करोड ७९ लाख रुपैयाँले बढेर ५५ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको चैतसम्ममा कम्पनीको अन्य आम्दानी अर्थात सहायक कम्पनीबाट प्राप्त हुने कमाई पनि करिब १५ करोडले बढे पछि ७५ करोड रुपैयाँ कमाएको छ । आफ्ना सहायक कम्पनीहरु हिमाल पावर लिमिटेड, खुदी हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडबाट विपिसीले उक्त रकम आम्दानी गरेको हो ।

जगेडा कोष ४ अर्ब ५१ करोड ८० लाख रुपैयाँ कायम भएको कम्पनीको प्रतिशेयर आम्दानी ३३ रुपैंया ३८ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २६८ रुपैंया ३४ पैसा छ भने मूल्य आम्दानी अनुपात ९.८९ गुणा बढी छ ।


Share on:


Comments