मंगलबार र बुधबारको कारोबारमा चलखेल अध्ययन गर्न नेप्सेलाई बोर्डको निर्देशन

-नोटबजार संवाददाता।
काठमाण्डौं।
२जेष्ठ, २०७७, शुक्रबार / May 15, 2020 15:17:pm

नेपाल धितोपत्र बोर्डले गत मंगलबार र बुधबार भएको शेयर कारोबारको अध्ययन गरि प्रतिवेदन पेस गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ।

पछिल्लो दुबै दिन बजार खुलेको केही समयमा न नकारात्मक सर्किट लागेर बन्द भएपछि लगानीकर्ताले चलखेल गरि बजार घटाइएको भएको भन्दै कारोबार रद्ध गर्न माग गरेपछि बोर्डले नेप्सेलाई अध्ययन गर्न भनेको हो।

बिहीबार लगानीकताृको चारवटै संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै लकडाउनको समयमा शेयर लगानीकर्ताको न्यून सहभागिता र सीमित व्यक्तिको मात्र पहुँचबाट शेयरमूल्यमा चलखेल भएको भन्दै बहुसंख्यक लगानीकर्ताहरूको सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहयोग गर्न कारोबार रद्द धितोपत्र बोर्डसँग माग गरेका थिए।

लगानीकर्ताको मागलाई सम्बोधन गर्दै बोर्डले मंगलबार र बुधबार भएको कारोबारको सुक्ष्म अध्ययन गरि खरीद र बिक्रीकर्ताबीच मूल्य घटाउने उदेश्यका साथ कारोबार भएन नभएको वा के कस्तो कारोबार कारोबार भएको हो अध्ययन गरि बोर्डमा प्रतिवेदन पेश गर्न भनिएको छ।

यस्तै बोर्डले प्रतिवेदन नआउँदासम्मको लागि दुबै दिनको कारोबार राफसाफ कार्य समेत स्थगन गर्न सिडीएससीलाई निर्देशन दिएको छ।
नेप्सेले बुझाउने प्रतिवेदनका आधारमा चलखेल प्रमाणित हुने आधार देखिए धितोपत्रको नियम अनुसार कारवाही अघि बढाउने र नभए राफसाफ हुने बोर्डले जनाएको छ।

लकडाउनबीच दैनिक दुई घण्टा खुला गरिएको दुई दिनको बजारमा नकारात्मक सर्किट लागेर कुनैपनि दिन पूरा समय शेयर कारोबार हुन सकेको थिएन। पहिलो दिन मंगलबार १ घण्टा ३० मिनेट अगावै बन्द भएको शेयर बजार दोस्रो दिन बुधबार ४० मिनेट अगावै ऋणात्मक सर्किट लागेर बन्द भएको थियो।

लगानीकर्ताले सीमित पहुँचवालाहरुले चलखेल गरि १०/१० कित्ताको शेयर कारोबर गरि बजार घटाइएको भन्दै छानबीन गर्न र कारोबार रद्ध गर्न सामाजिक सञ्जाल मार्फत चर्को दबाब दिएका थिए।

पहिलो दिन नागरिक लगानी कोषको संस्थापक शेयर कारोबारका कारण १० करोड ४३ लाखको कारोबार भएपनि दोस्रो दिनमा ३६ लाख १३ हजार रुपैयाँ बराबरको मात्र शेयर खरीद बिक्री भएको थियो।


Share on:


Comments