गाविस सचिवद्धारा अठार करोड भ्रष्टाचार

-नोटबजार संवाददाता।
काठमाण्डौं।
८जेष्ठ, २०७७, बिहीबार / May 21, 2020 10:45:am

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गा.वि.स. सचिवमा सेवा प्रवेश गरी शाखा अधिकृतको पदबाट अवकाश प्राप्त ऋषिराम अर्यालविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रहेका उनको १७ करोड ८३ लाख रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेपछि अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको हो ।

आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचार मार्फत् अकूत सम्पत्ति कमाएका अर्यालविरुद्ध विशेष अदालत काठमाडौंमा १७ करोड ८३ लाख रुपैयाँ बिगो र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको छ।

स्याङ्जाबाट गाविस सचिवमा जागिर शुरु गरेका ऋषिराम अर्यालले ३७ वर्षे जागीरे जीवनमा २६ करोड कमाई गरेको र त्यसमध्ये ८ करोड ७७ लाख रुपैयाँ बराबरको मात्र आयस्रोत खुलेको उल्लेख गरिएको छ।

२०३९ साल साउनबाट जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव पदमा नियुक्ति लिई ३७ वर्ष सेवा गरेका अर्यालले २०७६ असार मसान्तसम्म २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँको कारोबार गरेको र ८ करोड ७७ लाख २७ हजार ४८३ रुपैयाँ मात्रै वैद्य ढंगबाट सम्पत्ति आर्जन भएको निष्कर्ष अख्तियारको छ ।

अर्यालले काय गरेको स्थानपिच्छे जग्गाजमिन, शेयर बजारमा लगानी र घर जोडेको र श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल तथा छोराहरु सुशील अर्याल र सुनिल अर्यालको नाममा राखिएको पाइएपछि अर्यालसँगै श्रीमती र छोराहरुलाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।

अर्यालले काठमाडौँको धापासी, टोखा सरस्वती र भीमढुङ्गा गाविस तथा टोखा नगरपालिकाको कार्यकारी अधिकृत भएर काम गरेका थिए ।

अर्याललाई भ्रष्टाचार निवारण ऐन, बमोजिम अकुत सम्पत्ति जफत गरी जफत गरिएका सम्पत्तिबाट नपुग हुन आएको बिगोसमेत कानून बमोजिम असुल गरी पाउन माग गरिएको छ ।


Share on:


Comments