बैंकका कर्मचारी सम्पत्ति हुन्, संकटका बेला प्रोत्साहित गर्नुपर्छ : पवन गोल्यान

Note Bazar २७जेष्ठ, २०७७, मंगलवार / Jun 09, 2020 09:19:am

हरेक बैंकले आफ्नो हिसावले कर्मचारीको स्वास्थ्य सुरक्षाको विषयलाई केन्द्रमा राखेर काम गर्नु पर्छ । एनएमबी बैंकको हकमा म आफैंले यो कुरा राखेर व्यवस्थापनले सोही अनुसार काम गरिरहेको छ।

स्वास्थ्यको मापदण्ड अनुसार अग्रपक्तिमा रहेर काम गर्ने कर्मचारीहरुलाई धेरै प्राथमिकतामा राख्नु पर्ने अवस्था छ । हामीले सोही अनुसार गरिरहेका छौं । र अन्य बैंकहरुले पनि गरिरहनु भएको छ भन्ने मेरो बुझाई हो ।

पछिल्ला केही दिन यता सर्वसाधारणको चहलपहल साविकको तुलनामा बढेको छ। योसँगै बैंकमा आउने सेवाग्राहीको चाप पनि बढ्नु स्वभाविक हो। बैंकिङ कृयाकलापमा पनि बढोत्तरी हुने अवस्था देखिएको छ। यो अवस्थामा जोखिम पनि उत्तिकै हुन्छ । त्यसैले पछिल्लो अढाई महिनाको लकडाउनको समयमा भन्दा धेरै सावधानी अबका दिनमा अपनाउनु पर्ने हुन्छ । किनकी पछिल्ला दिनमा संक्रमणको दरमा धेरै वृद्धि देखिन थालेको छ ।

यो अवस्थामा स्वास्थ्य सुरक्षाको विषयमा नै कोरोना प्रतिरोधात्मक क्षमता बढाउने खाद्य पदार्थको उपलब्धता पनि महत्वपूर्ण छ । यसका लागि आवश्यक वस्तुको उपलब्धतालाई पनि हामीले ध्यानमा राखेका छौं ।

विगतको जस्तो पासबाट मात्र आवागमन गर्नु पर्ने अवस्थामा लचकता आएसँगै कर्मचारीको मुभमेण्ट पनि स्वभाविक रुपमा बढ्छ र बढि पनि रहेको छ । हिजो सिमित शाखा मात्र खोल्दै आएकोमा हामीले अहिले सबै जसो शाखाहरुलाई सिमित अवधिका लागि दैनिक खुल्ला राख्न थालेको अवस्था छ । यो अवस्थामा धेरै सावधानी अपनाउनु पर्ने कुरालाई नकार्न सकिन्न ।

विशेष गरी बैंक वित्तीय संस्थामा अग्र पंक्तिमा रहेर काम गर्ने कर्मचारीको हकमा अतिरिक्त सेवा सुविधा दिँदै कर्मचारीको मनोबल उच्च बनाउनेतर्फ बैंकहरुले ध्यान दिनु पर्छ । यसका लागि बैंकर्स संघले नै सदस्य बैंकहरुसँग समन्वय गर्नु पर्छ र गरिरहनु भएको छ जस्तो लाग्छ । यो विषयलाई बैंकर्स संघका साथै प्रत्येक संस्थाले पनि संवेदनशील विषयका रुपमा लिनु पर्छ । अग्रपंक्तिमा नरहेका तथा घरमा बसेर काम गरिरहेका कर्मचारीको अतिरिक्त सेवा सुविधा कटौती गरेर भए पनि अग्रपंक्तिका कर्मचारीको मनोबल उच्च बनाउनु पर्छ ।

अहिले कर्मचारीहरुका लागि गरिएको १ लाख रुपैंयाको कोरोना बीमाको रकम थोरै भयो, यसले कर्मचारीको मानसिकतालाई उत्साहित बनाउन सक्दैन । कुनै पनि उद्योगमा कच्चा पदार्थ, जनशक्ति र मेशिनको संयोजनबाट उत्पादन तयार हुन्छ । तर बैंकमा कच्चा पदार्थ भने पनि मेशिन भने पनि जनशक्ति भने पनि सबै कर्मचारी नै हो । उद्योगको तुलनामा बैंकिङ उद्योगमा कर्मचारी भनेको मुख्य सम्पत्ति हुन् । त्यसैले कर्मचारीलाई संस्था सस्टिनेबल हुने गरि धेरैभन्दा धेरै उत्साहित बनाउने गरि सेवा सुविधाका माध्यमबाट काम गर्ने गराउने गर्नु पर्छ । यसो गर्दै गर्दा अनावश्यक वर्णेन पर्ने गरी पनि काम गर्नु हुँदैन । विनविन सिचुएशनमा संस्था र कर्मचारी अघि बढ्ने किसिमले सहज वाताबरणमा काम गर्ने हो भने बैंक वित्तीय संस्था र त्यहा आश्रित जनशक्तिले सामान्य अवस्थाको जस्तै नतिजा देखाउन सक्छन्।

- बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष एवं एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष पवन गोल्यानसँग नोटबजारले गरेको कुराकानीको सम्पादिन अंश ।


Share on:


Comments