नेपालमा थप ४७६ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १३,२४८

-नोटबजार संवाददाता।
काठमाडौं।
१५असार, २०७७, सोमबार / Jun 29, 2020 16:35:pm

नेपालमा विगत २४ घण्टामा थप ४७६ जनामा कोरोनाभाइरस सङ्क्रमण र अर्का एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ महिला र ३६४ पुरुष गरी जम्मा ४७६ जनामा कोरोना पुष्टि भएको हो।

यो वृद्धिसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,२४८ पुगेको छ। तीमध्ये ३,१३४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

अहिले फेला परेका सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १०,०८५ छ।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

आइतवार ४६३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

डा. गौतमका अनुसार १३ महिला र १०८ पुरुष गरी १२१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन्। हालसम्म महिला २ सय ६६ र पुरुष २ हजार ८ सय ६६ गरी जम्मा ३ हजार १ सय ३४ जना डिस्चार्ज भएका छन्।



Share on:


Comments