तातोपानी र रसुवागढी नाकाबाट आयात/निर्यातका जटिलता सरलीकरण गर्न चेम्बरको आग्रह

-नोटबजार संवाददाता।
काठमाडौं।
२३असार, २०७७, मंगलवार / Jul 07, 2020 19:36:pm

नेपाल चेम्बर अफ कमर्शले तातोपानी र रसुवागढी नाकाबाट आयात तथा निर्यातका जटिलता सरलीकरण तथा सहजीकरण गनुपर्ने आवश्यकता औल्याएको छ ।

चीनका लागि नवनियुक्त नेपालका राजदूत महेन्द्र बहादुर पाण्डेसँग चेम्बरका पदाधिकारीले भेटगरी आयात तथा निर्यातका लागि निर्वाध रुपले दुवै नाका संचालन गरिनुपर्ने बारे ध्यानकर्षण गराए ।

चीनले ८००० भन्दा बढि नेपाली उत्पादनहरुका मालवस्तुको आयातमा शुन्य भन्सार महशुल दरमा प्रवेश सुविधा प्रदान गरेको र यस सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ । सो प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले सो घटाउन पनि पहल गरिनु पर्ने चेम्बरले बताएको छ।

उक्त अवसरमा अध्यक्ष राजेश काजी श्रेष्ठले चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तुहरु निर्यातको प्रचुर सम्भावना भएकोले ति वस्तुहरु चिनिया बजारमा सहज तथा सरल तवरले प्रवेशको लागि पहल गरिदिन अनुरोध गरे । यसका लागि क्वारान्टाइनको प्रक्रियालाई सहजिकरण गर्न प्रयास गरिनु पर्ने बताए।

नेपालको पर्यटन विस्तारमा चीनिया पर्यटकको ठूलो योगदान रहेको हुँदा कोभिड पश्चात चीनका पर्यटकहरुलाई नेपाल आगमनको लागि प्रवद्र्धन गरिनुपर्ने तथा हवाइ भाडा प्रतिस्पर्धि बनाउनु पर्ने उनको भनाई थियो। सो अवसरमा नेपाल चिन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनबाट धार्मिक तथा संस्कृतिक पर्यटक प्रवर्धन गर्न आग्रह गरे।

चेम्बर पदाधिकारीसँगको भेटमा राजदूत पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भिरता पूर्वक मनन गरि आप्mनो तर्फबाट सहजिकरण गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष, राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधर लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


Share on:


Comments