प्रयोजन नखुलेको शेयर धितो कर्जामा मात्र ५० लाखको सीमा आकर्षित हुन्छ -राष्ट्र बैंक

-नोटबजार संवाददाता।
काठमाडौं।
१३श्रावण, २०७७, मंगलवार / Jul 28, 2020 09:29:am

मौद्रिक नीतिको आधारमा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा व्यक्तिगत कर्जाको विषयमा बजारमा अन्यौलता उत्पन्न भएको छ । राष्ट्र बैंकले जारी गरेको निर्देशनको शीर्षक १७ मा एकीकृत निर्देशन २०७६ को बुँदा २३ लाई संशोधन गर्दै निश्चित प्रयोजन नखुलेका व्यक्तिगत कर्जाको सीमा ५० लाख कायम गरिएको छ ।

यो व्यवस्था गरेसँगै सोमबार बजारमा एक किसिमको तरंग उत्पन्न भयो । सबै किसिमका व्यक्तिगत कर्जाहरुमा कडाई गरिएको बुझाई सहित चौतर्फी रुपमा संसोेधनका विषयमा फरक मत राख्नेहरुको लहर नै चल्यो ।

यस सम्बन्धमा नेपाल राष्ट्र बैंकले भनेको छ, ‘निश्चित प्रयोजन नखुलाई प्रवाह भैरहेको कर्जालाई कडाई गर्न खोजिएको मात्र हो । तर प्रयोजन खुलाएर के का लागि कर्जा लिएको हो भन्ने प्रष्ट भएको अवस्थामा ५० लाखको सीमा आकर्षित हुँदैन ।’

नोटबजारसँग कुरा गर्दै केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘अहिले व्यक्तिगत कर्जा अन्तरगत प्रवाह भईरहेका कर्जा कहाँ प्रयोग भइरहेको छ भन्ने प्रयोजन नखुलेका धेरै कर्जा छन् । त्यसलाई नियमन गर्दै शेयरमा लगानी, अध्ययन, औषधोपचार वा जग्गा खरिद वा निश्चित किसिमको व्यवसाय गर्न पहिले नै प्रयोजन खुलाएका कर्जामा ५० लाखको सीमा नलाग्ने व्यवस्था गरिएको हो । तर के कामका लागि कर्जा लगिएको हो, त्यसको प्रयोजन नखुलाइएका कर्जाको हकमा मात्र कर्जाको सीमा ५० लाख कायम गरिएको हो । यसमा कसैलाई पनि अन्यौलमा नरहन केन्द्रिय बैंक आग्रह गर्दछ ।’

अब बैंक वित्तीय संस्थाहरुले प्रयोजन नखुलेका ५० लाखभन्दा बढी रकमको व्यक्तिगत कर्जा प्रवाह गर्न पाउँदैनन् । प्रयोजन नखुलाई यस अघि नै प्रवाह भएका ५० लाख भन्दा बढी रकमका कर्जाहरुलाई पनि अब बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्ममा ५० लाखको सीमामा ल्याई सक्नु पर्छ ।

यस सम्बन्धमा बैंकर मनोज ज्ञवालीले भन्छन्, ‘प्रयोजन नखुलेको व्यक्तिगत कर्जाको सीमा ५० लाख (हालकै व्यवस्था अनुसार) गर्दै गर्दा प्रयोजन नखुलाई शेयर धितो राखेर लिएको व्यक्तिगत कर्जाको सीमा पनि ५० लाख कायम गरिएको हो । व्यक्तिगत कर्जा लिँदा धितोमा घर, जग्गा, सुन, शेयर जे पनि राखिएको हुन सक्छ । सोमबारको व्यवस्थाले धितोलाई प्रष्ट पारेको मात्र हो । यो सीमा मार्जिन लेण्डिङमा आकर्षित हुँदैन । ५० लाखको सीमा मार्जिन लेण्डिङका लागि नभई व्यक्तिगत कर्जाको मात्र सीमा हो । यसबाट आत्तिनु पर्दैन ।’

त्यसैगरी नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष अम्बिका प्रसाद पौडेलले पनि केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा गरिएको व्यवस्थाका सम्बन्धमा कुनै अन्यौलता नरहेको प्रष्ट पारेका छन् ।

उनले भने, ‘निश्चित प्रयोजन नखुलाई व्यक्तिगत रूपमा शेयर धितोमा लिने कर्जा रकम विगतमा प्रष्ट नरहेकोमा यो निर्देशनले आईन्दा शेयर धितो राखी प्रयोजन नखुलाई लिने कर्जाको सीमा ५० लाखसम्म रहने व्यवस्था गरेको छ । यदि शेयर धितोमा राखी प्रयोजन नखुलाई सो सीमाभन्दा बढी कर्जा लिएको भए त्यस्तो कर्जामा ५० लाखको सीमा आकर्षित हुन्छ र २०७९ असार मसान्तसम्म त्यस्तो कर्जा ५० लाखको सीमा भित्र ल्याउनुपर्छ । यदि कसैले शेयर खरिद गर्ने प्रयोजन खुलाएर ५० लाखभन्दा धेरै रकमको कर्जा लिएको छ र सोही प्रयोजनमा सदुपयोग गरेको छ भने उक्त कर्जामा ५० लाखको सीमा लाग्ने छैन अर्थात धितोले थामे सम्मको कर्जा लिन पाउने छ ।’

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments