साधना लघुवित्तको शेयर सूचीकरणमा ढिलाइ किन ? यसो भन्छन् लघुवित्तका सीईओ न्यौपाने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१३श्रावण, २०७७, मंगलवार / Jul 28, 2020 11:11:am

सर्वसाधारणमा अजोड इज्स्योरेन्सको आईपीओभन्दा छिटो शेयर जारी गरेको साधना लघुवित्तको शेयर सूचीकरणमा ढिलाइ भएको छ। यससँगै लघुवित्तको आईपीओ परेको लगानीकर्ताहरुमा लघुवित्तको आईपीओ सूचीकरणमा ढिलाइसँगै चासो उत्पन्न भएको छ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेशम न्यौपानेले ढिलोमा पनि आइतबारदेखि लगानीकर्ताले शेयर कारोबार गर्न पाउने बताए। शेयर सूचीकरणका लागि मोफसलबाट राजधानी आउनुपर्ने र गत आर्थिक वर्षको समाप्तिमा हुने कार्यको चापका कारण शेयर सूचीकरणमा केही ढिलाइ भएको बताउँदै न्यौपानेले भोलि वा पर्सिमा नेप्सेमा शेयर सूचीकरण भइसक्ने जानकारी दिए।

साधना लघुवित्तले सर्वसाधारणमा असार २१ गतेदेखि असार २४ गतेसम्म जारी गरेको आईपीओ असार २९ गते बाँडफाँड भएको थियो।

लघुवित्तको आईपीओमा आवेदन गर्ने १४.७४ प्रतिशत लगानीकर्ताले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर हात पारेका थिए भने आवेदकमध्ये ८५.२६ प्रतिशतको हात खाली भएको थियो।

लघुवित्तको आईपीओमा कुल ४ लाख ४८ हजार ६४० वटा आवेदन परेकोमा ७९१ वटा आवेदकको आवेदन रद्द भएको छ। सदर आवेदक ४ लाख ४७ हजार ८४९ आवेदनमध्येबाट लघुवित्तको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका थिए।

उक्त आईपीओमा १ करोड ९ लाख १७ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। जसमध्ये एक करोड ९ लाख ९९० कित्ताका लागि परेको आवेदन सदर भएको थियो।

कम्पनीले सर्वसाधारणका लागि ६ करोड ६१ लाख ५२ हजार २०० रुपैयाँ बराबरको ६ लाख ६१ हजार ५२० कित्ता शेयर बिक्री खुला गरेको थियो भने १० हजार ८९० कित्ता कर्मचारीका लागि र ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो।

संस्थाले गत ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो। संस्थाले प्रतिकित्ता १०० रुपैयाँदरका ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गरेको हो।

गत चैतसम्म कम्पनीले १ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments