पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

Note Bazar १७श्रावण, २०७७, शनिबार / Aug 01, 2020 20:39:pm

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो ।

यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ रहेकोमा अब बढेर ९० रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर वीरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ । निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गरेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments