नेपाल र बंगलादेशबीचको सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड

-नोटबजार संवाददाता।
काठमाडौं।
२३श्रावण, २०७७, शुक्रबार / Aug 07, 2020 16:17:pm

नेपाल र बंगलादेशले व्यापार, ऊर्जा तथा लगानीका क्षेत्रमा भएको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेश राजदूत मास्फी बिन्ते साम्सबीच शुक्रबार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा दुई देशबीच व्यापार, ऊर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा थप सहकार्यको आवश्यकतमा जोड दिइएको हो।

आफ्नो ७ वर्षे कार्यकाल पूरा गरी बंगलादेश फर्कन लागेका राजदूतले बिदाइ भेट गरेका हुन् । भेटमा अर्थमन्त्रीले नेपाल र बंगलादेश बीच ५ दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार, ऊर्जा र लगानीका विविध आयाममा दुवै देशबीच सहकार्य भैरहेको धारणा व्यक्त गरे । उनले दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने धारणा राखे ।

अर्थमन्त्री खतिवडाले नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्दै अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे बताए ।

उनले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाईसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको उल्लेख गरे । उनले सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तिव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटानबीचको उपक्षेत्रीय इकाइ महत्वपूर्ण हुन सक्ने बताए ।

अर्थमन्त्री खतिवडाले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयहरुलाई आत्मसाथ गरी आर्थिक विकासको गति अघि बढाइरहेको जानकारी दिए । लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोबाइल बैंकिङको विस्तारमा नेपालले बंगलादेशबाट धेरै सिकेको उल्लेख गर्दै अर्थमन्त्रीले कोभिड–१९ ले ल्याएको चुनौति र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न आव्हान गरे ।

भेटका अवसरमा राजदुत साम्सले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा संगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले दुई देशबीच व्यापार, उर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताए । वातावरणीय संवेदनशीलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा सम्बाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै उनले नेपाल बंगलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गरे ।  

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments