कोभिडले उद्योग व्यवसाय हाड र छाला मात्र बाँकी रहेको अवस्थामा छन् - पशुपति मुरारका

✍️ पशुपति मुरारका ।
काठमाण्डौं।
१०भाद्र, २०७७, बुधबार / Aug 26, 2020 20:16:pm

कोरोना संक्रमणले अहिले विश्व आक्रान्त बनिरहेको छ । यसको असरबाट हामी पनि धेरै प्रभावित भईरहेका छौं । लकडाउन सुरु भएको ६ महिना बितेको छ । यो अवस्थामा आम नागरिकको जीवन अत्यन्तै कष्टकर बनिरहेको कुरालाई नकार्न सकिँदैन ।

अहिलेको परिस्थितिलाई अरुले भन्दा मैले फरक तरिकाले बुझ्न खाजेको छु । म गलत पनि हुन सक्छु कि हामी सबै जना धेरै विज्ञ हुन खोज्छौं, तर विज्ञ कोही पनि छैनौं । म आफू त कुनै पनि पाटोबाट अहिलेको परिस्थितीको विज्ञ होइन । न म डाक्टर हुँ, न वैज्ञानिक । कोभिडले अबका दिनमा कस्तो रुप लिन्छ कसैलाई थाहा छैन । यो अवस्थामा कुनै पनि काममा अल्पकालीन योजना बनाउनु सबैका लागि घातक हुन सक्छ ।

दक्षिण कोरियाले सबैभन्दा राम्रो किसिमले कोभिड नियन्त्रण गर्यो भन्दै गर्दा आजको स्थिति त हामीले देखिसकेका छौं । अरु धेरै मुलुकहरुको अवस्था पनि उस्तै देखिँदै आएको छ । यो अवस्था कहिलेसम्म रहने हो थाहा छैन । अब कोरोनासँग नै बाँच्नु सिक्नु पर्छ भन्ने मलाई लाग्छ । गत चैतको तुलनामा हामीले कोरोनालाई धेरै सहज मानिसकेका छौं । तर संक्रमणको जोखिमलाई वेवास्ता भने गर्नु हुँदैन ।

एउटा परिवारमा एक जनालाई संक्रमण भयो भने पुरै परिवार नै संक्रमित हुन्छ । यो अवस्थालाई सहज मान्न सकिन्न । अन्य अवस्थामा जस्तो संक्रमित भएको बेला छिमेकीको मद्दत पाउने अवस्था पनि छैन । अर्कातिर संक्रमित भएपछि वा अन्य किसिमका स्वास्थ्य समस्या आउँदा अस्पतालमा उपचारका लागि ठाउँ पाउने अवस्था पनि छैन । बेड तथा उपचार पाई हालेको अवस्थामा नजिकको नातेदार नै कुरुवा बस्न सक्ने अवस्था छैन । यो अवस्था मैले यहाँ नभोगे पनि भारतमा रहनु भएका मेरा आफन्तहरुले सुनाएको अनुभवले भित्र भित्रै त्रसित भएको महसुस गर्न थालेको छु । तर हामीसँग कुनै विकल्प पनि त छैन ।

पछिल्ला दिनहरुमा संक्रमणदर तीब्र बन्दै गएको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । कसैको ज्यान जाँदा परिवारका सदस्यले अन्तिम संस्कारका लागि मृत शरीर समेत पाउने अवस्था छैन । हिन्दु धर्मावलम्बीको बाहुल्यता रहेको हाम्रो समाजमा अन्तिम संस्कारका लागि मृत शरीर समेत नपाउने अवस्थाभन्दा अरु ठूलो अरु के हुन सक्छ ? योभन्दा नाजुक अवस्था केही पनि हुन सक्दैन । यो अवस्थामा हामी सबै आफैं सुरक्षित हुनेभन्दा अरु विकल्प पनि छैन ।

यो अवस्थालाई आर्थिक रुपमा जोडेर हेर्ने हो भने कति नोक्सान हुन्छ भन्ने आंकलन गर्न सकिन्न । तर अहिलेको प्राथमिकता भनेको सबैले स्वास्थ्यमा केन्द्रित हुनुपर्छ । व्यक्ति जीवित रह्यो भने भोलिका दिनमा अवश्य पनि नाफा र नोक्सानको हिसाब किताब गर्न सकिन्छ ।
जबसम्म कोभिडको खोप आउँदैन, तबसम्म हामीले आफुलाई मानसिक रुपमा आफुलाई बलियो बनाउँदै बस्नुपर्छ । यसको अरु विकल्प पनि छैन । संक्रमण जोखिमको यो अवधि ६ महिना वा १ वर्षको पनि हुन सक्ला, हामी त्यसको लागि तयार हुनुपर्छ ।

नाफा नोक्सान नै केलाउने हो भने हामी अहिले इतिहासकै सबैभन्दा कमजोर अवस्थामा आई पुगेका छौं । यसले ठूलो नोक्सानीको अवस्थामा हामीलाई पुर्याएको छ । आम नागरिकको पाटोबाट हेर्ने हो भने औषत आर्थिक अवस्था झनै कमजोर बनेको छ । संक्रमण जोखिका कारण कतिपय क्रियाकलाप बन्द हुँदा खर्च पनि घटेको छ । तर त्यसको चौतर्फी असर घुम्दै हामी आफैँको वरिपरि घुमिरहेको छ । तर हामी बाँच्नका लागि नै आज घरभित्र बन्द कोठामा बस्नैपर्ने अवस्थामा छौं । यसले नाफा नोक्सानको हिसाब किताब गर्नेभन्दा पनि आफुलाई जीवित राख्नका लागि हामीले अर्को लडाई लड्नुपर्ने अवस्था उत्पन्न भएको कुरालाई नकार्न सकिन्न ।

नेपालको सन्दर्भमा सकरात्मक विषय के हो भने आम नागरिकहरु सहज र असहज परिस्थितिसँग तत्काल जुध्ने क्षमता राख्छन् । तत्काल एउटा परिस्थितिलाई भुलेर सामान्य जीवनमा फर्कन सक्छन् । अघिल्लो पटक गरिएको लकडाउनले उत्पन्न गरेको असहज परिस्थितिमा सबै डराएर घरमा बसेको भए पनि त्यसपछि असार पहिलो साताबाट अवस्था सामान्य बनेको महसुस मात्र गर्दा सबैले समय अनुसार आफ्ना कृयाकलापलाई सुचारु गराउन थालिसकेका थिए । तर फेरि स्थिति असहज बनेको छ । यो अवस्थामा अलिकति मात्र अवस्था सामान्य बन्न थाल्यो भने हामी फेरि छिट्टै नै नियमित क्रियाकलापमा फर्किन सक्छौं । यसलाई मैले सकरात्मक रुपमा लिएको छु ।

उद्योग व्यवसाय र कलकारखाना आजका दिनमा हाड र छाला मात्र बाँकी रहेको अवस्थामा छन् । पहिलो पटकको लकडाउनले बोसो र मासु मात्र घटाएको थियो, अहिले अवस्था ज्यादै नाजुक बनेको छ । पछिल्लो पटकको लकडाउनले यो अवस्थालाई झनै बढाउँदै उद्योग व्यवसायलाई संंकुचित बनाउनेमा दुई मत छैन ।

विशेष गरी पहिलो पटक र अहिलेको लकडाउनले साना तथा मझौला उद्योगहरु धेरै प्रभावित बनेका छन् । भोलिका दिनमा उनीहरु झन् धेरै प्रभावित हुने क्रम बढेर जानेछ । यो अवस्थासँग लड्नुको कुनै उपाय पनि छैन । किनभने हामीकहाँ उपलब्ध स्वास्थ्य सेवाको अवस्था कस्तो छ भन्ने हामीले देखि नै रहेका छौं । आज दैनिक ७०० को हाराहारीमा संक्रमित बढिरहेको अवस्था छ । यो दर अझै बढ्दै गयो भने अवस्था झनै भयावह बन्ने निश्चित छ । यो अवस्था हामीले कसैगरी पनि टार्न सक्दैनौं ।

हामी उद्योग व्यवसायीले पनि यो संकटको घडीमा धेरै रोई कराई गर्नु हुँदैन । परिस्थिति अनुकुल आफ्ना व्यवसायिक क्रियाकलापलाई स्वास्थ्य सुरक्षा प्रोटोकलको पूर्ण पालना गरेर सुचारु गर्न सकिन्छ । तर संक्रमण दर बढ्दै गएको अवस्थामा उद्योग र व्यवसायिक क्रियाकलाप सञ्चालन हुनसक्ने अवस्था बनेन भने त्यसलाई स्वीकार गरिनुपर्छ ।

यो अवस्थालाई वास्तविक रुपमा प्रस्तुत गर्दा म नकरात्मक देखिन सक्छु । तर व्यवहारिक पक्ष यही नै हो । आम दाजु भाई दिदी बहिनीलाई यो संकटको घडीमा संयमित भएर सुरक्षित किसिमले रहन आग्रह गर्दछु । यो संकटको घडीबाट मुक्ति पाउनका लागि तपाई हामी नै घरघरमा बसेर जुट्ने हो, अरु कुनै उपाय अहिले प्रभावकारी छैन ।

(मुरारका नेपाल उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष हुन्।)

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments