एशियाको अर्थतन्त्र ६ दशक यताकै कमजोर, अर्को वर्ष लयमा फर्कने अनुमान

-नोटबजार संवाददाता।
काठमाडौं।
३०भाद्र, २०७७, मंगलवार / Sep 15, 2020 19:27:pm

एशियाली विकास बैंक (एडीबी) ले यो वर्ष एशियाको आर्थिक वृद्धिदर ६० वर्ष यताकै न्यून हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरसका कारण अस्तव्यस्त अर्थतन्त्र आगामी वर्ष नै पुरानो लयमा फर्कने अनुमान समेत गरेको छ ।

एडिबीले मंगलबार सार्वजनिक गरेको ‘डेभलपिङ एसिया आउटलुक रिपोर्ट २०२०’ अनुसार कोभिड १९ महामारीका कारण यसवर्ष दक्षिण एशियाली मुलुकको समग्र आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण छ । सान २०२१ मा भने दक्षिण एशियाको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने अनुमान एडीबीको छ ।

सन २०२० मा माल्दिभ्सको अर्थतन्त्र सबैभन्दा धेरै खस्किने देखिएको छ । यसवर्ष माल्दिभ्सको जिडिपी २०.५ प्रतिशत ऋणात्मक रहने देखिएको छ । त्यस्तै, भारतको वृद्धिदर ९, श्रीलंकाको वृद्धिदर ५.५, अफगानीस्थानको वृद्धिदर ५ र पाकिस्तानको ०.४ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण छ ।

नेपालको जिडिपी वृद्धिदर २०२० मा २.३ प्रतिशत र २०२१ मा १.५ प्रतिशत प्रक्षेपण गरिएको छ । उक्त रिपोर्टअनुसार पछिल्लो २ वर्ष अर्थात सन २०१८ मा ६.७ र २०१९ मा ७ प्रतिशत वृद्धिदर थियो ।

दक्षिण एशियाका तीन मुलुक बंगलादेश, भुटान र नेपालको आर्थिक वृद्धिदर गतवर्षको तुलनामा घटेपनि ऋणात्मक भने हुनेछैन । कच्चा पेट्रोलियम पदार्थको मुल्यमा घट्दोक्रम र अरु वस्तुको पनि उपभोगमा कमी आएपछि घट्ने बजार मागका कारण यसवर्ष एशियामा २.९ प्रतिशत र २०२१ मा २.३ प्रतिशतको मुद्रास्फीति रहने आंकलन पनि एडिबीले गरेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments