सर्वसाधारण भन्छन्: कोरोना महामारीपछि खानै धौ-धौ छ, सन्तान कसरी पाल्ने ?

✍️ किरण अधिकारी ।
काठमाण्डौं।
३१भाद्र, २०७७, बुधबार / Sep 16, 2020 17:07:pm

विश्वब्यापी महामारी कोरोना भाइरस संक्रमण (कोभिड १९) पछि निम्न तथा मध्यम आयस्तर भएका आम सर्वसाधारणको जनजीबन संक्रमण रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञाले कष्ठकर बनाएको छ ।

सरकारले बिहीबारदेखि लामो दूरीको यातायात सञ्चालनका साथै अन्य सबै क्षेत्रमा खुकुलो गर्ने जनाएको छ । तर विगत लामो समयदेखि रोजीरोटी गुमाएका आम सर्वसाधारणमा भने लकडाउन खुलेपनि आगामी दिनमा दैनिकी असहज हुने चिन्ता उत्तिकै छ ।

कोटेश्वर बस्ने झापाकी डेमा मालिनी शर्मा सरकारले चैत्रपछि भदौमा पनि लकडाउन र निषेधाज्ञा दोहोर्याएका कारण जनजीबन प्रभावित भएको बताइन् । उनले भनिन्, “पहिलो पटक चैतमा गरिएको लकडाउनमा शुरूमा त दशै आएको जस्तो रमाईलो भयो । रोग आएपनि घरमा सबै रमाइलो गर्न पाइने भयो । तर रोग बढ्दै जाँदा मूलुकभर भएको समस्याले मेरो घरमा अशान्ती ल्याईसक्यो ।

६–६ महिनासम्म निरन्तर काम गर्न नपाउँदा मेरो पतिले तलब पाएनन् । सञ्चित गरेको थोरै रकमले कोठा भाडा, सानो बच्चा र आफूलाई पुग्दै नपुग्ने भयो । ऋण पनि कति जनासँग मात्र माग्ने । वाक्क लाग्न थालिसक्यो । बुढासँग प्रत्येक दिन कचकच मात्र हुन्छ । ऊनी मौन बस्छन् । म कति कराउनु ।”

पिठ्युँमा मकै बोकेर काठमाडौंका विभिन्न टोल टोलमा घुमाएर ब्यापार गर्दै आएकी काभ्रेकी सीता चौलागाई पनि लामो समय फुर्सदिलो बस्नुपर्यो । केही दिन अघिबाट फेरि हरियो मकै भनेर चिच्याउन शुरु गरेकी उनलाई अन्य महिलाजस्तो सजिलो छैन । लकडाउन अघिजस्तो मकैं लगायत विभिन्न तरकारी बोकेर गल्ली गल्लीमा जान भ्याइनभ्याई हुने उनलाई अहिले दिनभर एक दर्जन मकै बेच्न पनि गाह्रो छ ।

उनले भनिन् “के गर्नु हजुर बिक्री नै हुँदैन कोरोनाको बेला किन घर घरमा हिँडेको भनेर वडाध्याक्षले नै गाली गर्छन् । चोकमा पुराना ब्यापारीले घुमन्ते भनेर मलाई बस्नै दिँदैनन् । बिक्री नै हुँदैन ६ महिना ऋणमा बसियो, अब ऋण तिर्ने कसरी ? गाडी अगाडिबाट आउँदा ज्यानै फालौं जस्तो हुन्छ कहिलेकाँही, फेरि होइन अकालमा किन मर्ने भनेर सक्दिन, पहिले बुढाले घर बनाउने ठाउँमा मजदुरी गर्थे, अहिले कसको घर बन्छ र ? घरबेटीले पैसा नदिए कोठा छोड भन्छन् । ”

कोटेश्वरमा सहयोगीनगरमा सहयोगीनगर हाम्रो पसल नामबाट महिला र बच्चाबच्चाको पसल सञ्चालन गरेकी सुनिता लामिछाने उपत्यकामा संक्रमण बढेको बढ्यै हुने थालेपछि मानिसहरू काठमाडौंभन्दा बाहिर जान थालेको बताउँछिन् । उपत्यका छाडेर सबै आफ्नो घर जाँदा अबको दिनमा ब्यापारबाट आम्दानी गर्न समस्या नै रहेको उनको भनाई छ ।

उनी भन्छिन्, “एक पटकको उल्झनले पूरानो अवस्थामा फर्कन ३ वर्ष लाग्छ, अब हामीलाई आर्थिक संकट हुन्छ । राहतको व्यवस्था भनेपनि सरकारको कार्यान्वयन छैन, हामीलाई करले नै च्यापिरहेको छ ।”

भक्तपुरको गठ्ठाघरमा खाद्य सामाग्रीको थोक पसल ‘तेज इन्टरप्राइजेज’ सञ्चालन गरेका कैलालीका तेज बहादुर साउदले लकडाउनले दुःख पाएको जनाउँछन् । उनले भने, “सरकारले बिनाधितो ऋण उपलब्ध नगराए व्यवसाय बचाउने अवस्था छैन, अब त सहकारीले समेत ऋण दिनै छाडे ।”

माथिका केही त प्रतिनिधि पात्र मात्र हुन् । लकडाउनले केही दुःख गरेर सरल जीबनयापन गर्ने चाहना बोकेर विभिन्न प्रदेश, जिल्लाबाट उपत्यका आएका व्यक्तिलाई केही गर्न नपाउँदा त्राहीमाम भएका छन् । लकडाउन खुलेपनि सहज रुपमा काम नपाउने र पहिलाको रोजगारी गुमाइसकेकाहरुको चिन्ता भने आगामी दिन कसरी गुजारा टार्ने चन्ने चिन्ता ठूलो छ ।

काम नगरिकन दिन काट्न गाह्रो भएको होइन दैनिकी चलाउने पैसा नभएर जीउन अफ्ट्यारो भएको छ । काठमाडौंमा डेरा गरी बस्नेले काम गर्ने ढोका बन्द भएपछि के खाएर बस्ने ? डेरा भाडा कसरी तिर्ने ? सरकारले सहज रूपमा घर भाडा छुट दिन्छ भनेर प्रचार गरेको छ, कति कार्यान्वयन भएको छ ? सरकारले काम गर्न नदिने भएपछि खाना दिने र कोठाभाडा तिरिदिने गर्छ त ? डेरामा बस्नेहरुको प्रश्न सरकारसँग छ ।

उता काठमाडौं घर भएकाले पनि केही काम गरेर जिविकोपार्जनका लागि काम गर्न पाएका छैनन् । कोठा भाडामा बस्नेलाई छुट दिएपछि हामीले कसरी दैनिकी चलाउने ? यो त सबैभन्दा अफ्ट्यारो कुरा हो । घर भाडमा लगाएर केही कमाइ गर्दै आएकाहरुको पनि चिन्ता उस्तै छ ।

सरकारले असोज १ गते बिहीबारबाट लामो दूरीको सवारी साधान पनि खुला हुने बताएको छ । तर ६ महिनाको यो समस्याले सहजै अवस्था सरल हुन्छ भनेर पत्याउनै गाह्रो छ । खुला पनि कति दिनलाई हो भनेर सरकारले प्रष्ट नपारेकाले पनि सर्वसाधारणहरु अझै निश्चिन्त हुन सकेको छैनन् ।

नजिकिँदो गरेका दशैं तिहारजस्ता चाडपर्वहरुमा हुने भीडभाडलाई हटाउनका लागि भनेर सरकारले फेरि लकडाउन गर्ला कि भन्ने चिन्ता पनि आम सर्वसाधारणमा छ । यसो भए समस्या झन् बढेर जानेमा सर्वसाधारण, व्यापारी, उद्योगी, अर्थशास्त्री समेत चिन्तित देखिन्छन् ।
सरकारले मात्र समस्या समाधान गर्न सक्ने होइन निजी क्षेत्रले पनि एक्लै गर्नसक्ने होइन । महामारी आम जनतालाई लागेको छ । त्यसले गर्दा अहिले हामीले देखेको जुन चलिआएका चलन चल्तीका रोजगारी सिर्जनाका तौरतरिका छन् । संस्थागत, क्षेत्रगत रूपमा जिम्मेवारी लिएर परिवर्तन गर्नुपर्छ ।

अर्थविद् नवराज गौतमले ६ महिनाको लकडाउनले अर्थतन्त्र कमजोर हुँदै गएकाले अहिले लकडाउन खुले पनि आर्थिक क्रियाकलाप सहज हुन भने लामो समय लाग्ने बताउँछन् ।  उनले भने, “जीविका चलाउन जुन सुकै व्यक्ति, साना।मझ्यौला उद्यमी वा ठूला उद्योगी सबैमा समस्या छ । उद्योगमा उत्पादन भएका सामाग्रीलाई बजारसम्म पु¥याउन सके थोरै भएपनि रोजगारी सिर्जना हुनसक्छ । तर महामारिको अवस्थामा ठूला उद्योग स्थापना हुने र त्यसले हजारौं संख्यामा रोजगारी सिर्जना हुन सक्दैन ।

सरकारले ठूला आयोजनामा गर्ने लगानी बढाउनुका साथै राजमार्ग, विमानस्थल जस्ता आयोजनाहरुबाट एकै पटक ठूलो रोजगारी सिर्जना हुने भएपनि, अहिले त्यो नदेखिएको अर्थविद् गौतमले बताए ।

उनी भन्छन्, “हाम्रो नीति स्पष्ट छ । तर त्यसले संरचनागत रूपमा जिम्मेवारी लिईसकेको अवस्था छैन । जनताको बीचमा त्यसलाई हामीले अनलाईन बिजनेशसँग सम्बन्ध गर्न सकियो भने अहिलेको प्रणाली केही भएपनि परिवर्तन हुन्छ । त्यसले स्वरोजगारको सिर्जना गर्न सकिन्छ ।” उनले कोरोनाको महामारीसँगै विश्वव्यापी रूपमा आर्थिक मन्दी हुँदै गएकाले जनाता गम्भीर डिप्रेसनमा जानसक्ने बताए ।

अहिलेका अवस्थामा कोरोना महामारीबाट बच्न अब व्यक्ति आफैँले आफ्नो लागि टाढा बसेर दूरी कायम गरी आफैँ जिम्मेवारी भए मात्र केही सहज हुनसक्छ । समस्या चारैतिर भएकाले सरकारले योजनाका साथ अघि बढेर सर्वसाधारणलाई उत्साहित बनाउन सकेको खण्डमा मात्रै आशाको सञ्चार हुनेमा दुई मत छैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments