एकैदिन हालसम्म सबैभन्दा धेरै कोरोना पुष्टि, बुधबार थप ८ को मृत्यु

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
३१भाद्र, २०७७, बुधबार / Sep 16, 2020 18:16:pm

नेपालमा बुधबार एक हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि भएको छ । देशभरका विभन्न प्रयोगशालामा १० हजार ४९४ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेको छ ।

यो संख्या देशभर हालसम्म एकैदिन संक्रमण पुष्टि भएको भन्दा धेरै हो । मंगलबार एक हजार ४५९ जनामा कोरोना पुष्टि भएकोमा बुधबार ८० जना धेरैमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार काठमाडौंमा ६५२ जना, ललितपुरमा ६० जना, भक्तपुरमा २५ जना गरी उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । बुधबार पुष्टि भएकोमध्ये उपत्यकामा मात्रै संक्रमणको ४७.८८ प्रतिशत रहेको छ । यसले पनि उपत्यकामा कोरोना हब बन्नसक्ने जोखिम बढेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जनाले कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् । बुधबारसम्म ४१ हजार ७०६ जनाले कोरोना संक्रमण पराजित गरिसकेका छन् । यो संख्या कूल संक्रमितको ७१.५० प्रतिशत हो ।

हाल सक्रिय संक्रमितहरुको संख्या १६ हजार २४२ जना छन् भने क्वारेन्टीनमा ७ हजार ८२० जना छन्। संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना र होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् । हालसम्म कुल ८ लाख ७२ हजार २७४ पीसीआर परीक्षण सम्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोरोना संक्रमणका कारण थप ८ जनाले ज्यान गुमाएको जनाएको छ । मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षीया र ७४ वर्षीया, बाराकी ४६ वर्षीया र काभ्रेकी ५५ वर्षीया महिला तथा सुनसरीका ७० वर्षीय, सप्तरीका ३४ वर्षीय, काभ्रेका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरूष छन्।

संक्रमितमध्ये हालसम्म ३७९ जनाको मृत्यु भएको जनाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments