एफएनसीसीआईको साधारणसभा आगामी मंसिरमा काठमाडौंमै गर्ने निर्णय

-नोटबजार संवाददाता।
काठमाडौ ।
३आश्विन, २०७७, शनिबार / Sep 19, 2020 08:42:am

नेपाल उद्योग वाणिज्य महासंघको ५४ वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ मा काठमाडौमा हुने भएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले आगामी मंसिरमा काठमाडौंमै साधारणसभा गर्ने निर्णय गरेको हो।

गत चैतका लागि तय भएको महासंघको साधारणसभा कोरोना महामारी नियन्त्रणका लागि लकडाउन तथा निषेधज्ञा जारी गरिएपछि सर्दै आएको थियो ।

शुक्रबार बसेको महासंघ पदाधिकारी बैंठकले मिति तय गर्दै केन्द्रिय कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरेको महासंघका एक पदाधिकारीले नोटबजारलाई जानकारी दिए । उनले असोजको दोस्रो साता बस्ने कार्यसमितिको बैंठकले स्थान तोक्ने बताए। महासंघको कार्यसमिति बैठक असोज ११ वा १२ गते बस्ने भएको छ ।

यस अघि महासंघले निर्वाचनको मोडालिटी र मिति तय गर्न गठन गरेको कार्यदलले ३ ओटा मोडालिटी अपनाएर निर्वाचन गर्न सुझाव दिएको थियो । तर, शुक्रबार बसेको पदाधिकारी बैंठकले भने काठमाडौंमै प्रत्यक्ष रुपमा निर्वाचन गर्नुपर्ने सुझाव दिएपछि काठमाडौंमा गर्ने निर्णय भएको ति पदाधिकारीले बताए ।

जस अनुसार जिल्ला तथा नगर, बस्तुगत र एशोसिएट् तीनैतर्फको निर्वाचन प्रत्यक्ष रुपमा काठमाडौंमै हुनेछ । तर चुनावी स्थान भने अबका दिनमा बस्ने कार्यसमिति बैंठकले टुङ्गो लगाउने भएको छ ।

तर, उक्त समयमा काठमाडौंमा निर्वाचन गराउन सम्भव नभएमा प्रदेश अनुसार महासंघको निर्वाचन गरिने भएको छ । जसमा जिल्ला नगर तर्फको निर्वाचन प्रदेश राजधानीमा गरिने तथा एशोसियट र वस्तुगत तर्फ काठमाडौंमा निर्वाचन गरिने व्यवस्था मिलाइने भएको छ ।

पहिलो पटक गत चैत २८ र २९ गतेका लागि आह्वान गरिएको महासंघको साधारण सभा बन्दाबन्दीका कारण असार २६ र २७ गतेका लागि सारिएको थियो । तर सरकारले बन्दाबन्दीलाई निरन्तरता दिए पछि साधारण सभा तथा निर्वाचनको कार्यतालिका स्थगित गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments