राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र बोलकबोलबाट आज बिक्री गर्दै

-नोटबजार संवाददाता।
काठमाडौ ।
११आश्विन, २०७७, आईतवार / Sep 27, 2020 07:31:am

नेपाल राष्ट्र बैंकले असोज ११ गते आइतबार २० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गरेको छ । केन्द्रीय बैंकले 'विकास ऋणपत्र २०८६ घ' नाम दिइएको सो ऋणपत्र बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

९ वर्ष अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलका माध्यमबाटै निर्धारण हुने बैंकले जनाएको छ ।

सरकारले विकास निमार्णका काम गर्नका लागि पूँजी आवश्यक परेपछि विकास ऋणपत्रको माध्यबाट अन्तरिक ऋणको उठाउँछ । यसरी सरकारको लागि आवश्यक ऋण उठाइदिने काम केन्द्रीय बैंकले गर्छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी र सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत सो ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले अर्धबार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन भने नौं वर्षपछि २०८६ असोज १२ गते सावाँ पनि फिर्ता पाउनेछन ।

सो ऋणपत्र धितोमा राखेर समेत कर्जा लिन वा दिनसमेत पाइनेछ । आइतबार ३ बजेसम्म बोलकबोल हुनेछ भने अन्तिम निष्कासन सोमबार गरिनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्काशित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । त्यो भनेको प्रतिस्पर्धीलाई १७ अर्ब र अप्रतिस्पर्धीलाई ३ अर्ब २५ रुपैयाँ हो ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिकरुपमा उक्त ऋणपत्रको बाँडफाँट गरिने बैंकले जनाएको छ ।

यस्तै ब्याजदर र बाँडफाँड बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ । घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरीद गर्न सकिने छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments