सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-नोटबजार संवाददाता।
काठमाण्डौं।
१०मंसिर, २०७७, बुधबार / Nov 25, 2020 09:04:am

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) को लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ ।

बैंकले मंसिर २० गते डाकेको १४ औं वार्षिक साधारण सभाका लागि मंसिर ११ गते बिहीबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार बैंकको लाभांश पाउन बुधबारसम्म शेयरधनी भैसक्नुपर्नेछ ।

मंसिर ९ गते मंगलबार बैंकको प्रतिकित्ता २४६ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

बैंक संचालक समितिको ३४७ औं बैठकले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ । संचालक समितिबाट प्रस्ताव गरे अनुसार ८ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३८३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४हजार ५१८ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) अनुमोदन गर्नेछ ।

बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments