राष्ट्र बैंकले १०० जना कर्मचारी पदपूर्ति गर्ने, आन्तरिक र खुलाबाट आधा-आधा थपिँदै

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
३पुष, २०७७, शुक्रबार / Dec 18, 2020 14:25:pm

निजामति सेवामा परराष्ट्रपछि दोस्रो ठूलो आकर्षण रहेको नेपाल राष्ट्र बैंकमा जाखिरको अवसर खुला भएको छ । 

राष्ट्र बैंकले रित्त पदमा १०० जना कर्मचारी पदपूर्ति गर्ने भएको हो ।

केन्द्रीय बैंकले खुला प्रतिस्पर्धा मार्फत ५० जना र कार्यक्षमता मूल्याङ्कनतर्फ र आन्तरिक प्रतियोगितात्मक परीक्षा मार्फत पनि ५० जना नै कर्मचारी पदपूर्ति गर्न लागेको हो ।

केन्द्रीय बैंकको जनशक्ति व्यवस्थापन विभागले प्रशासन सेवा तर्फका रिक्त रहेका सहायक निर्देशक र सहायक पदमा खुला प्रतिस्पर्धा मार्फत ५० जना कर्मचारी परिपूर्ति गर्न लागेको हो । जसमा सहायक निर्देशक पदमा कुल ३८ जना र सहायक पदमा १२ जनालाई दरखास्त खुलाइएको छ।

शुक्रबार एक सूचना जारी गर्दै बैंकले योग्य तथा इच्छुक कर्मचारीहरुबट पुस ३ देखि २३ गते बिहीबारभित्र अनलाईन मार्फत दरखास्त आह्वान गरेको छ । सो समयमा आवेदन गर्न नसक्ने आवेदकले दोब्बर दस्तुर तिरेर भने माघ १ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । इच्छुक उम्मेदवारले बैंकको वेबसाइटमा गई अनलाइन आवेदन दिनुपर्नेछ ।

  • खुला प्रतिस्पर्धामा कुन पदमा कति ?

बैंकले अधिकृत तृतीय श्रेणीतर्फ प्रशासनमा सहायक निर्देशकमा गर्ने ३१ जना मध्ये खुला १७, महिला ५, आदिवासी जनजाति ४, मधेसी, २, दलित १ र पिछडिएको क्षेत्रमा २ जनाको कोटा छुट्याइएको छ ।

यसैगरी लेखा/लेखापरीक्षणतर्फ सहायक निर्देशकमा खुला ४ र अपांग १ गरी ५ जना, र वाणिज्य कानुनतर्फ सहायक निर्देशकमा खुला १ र आदिवासी जनजाति १ जना गरी २ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

सहायक द्वितीय श्रेणीको पदमा गरी १० मध्ये खुला ६, महिला १, आदिवासी जनजाति २ र मधेसी १ र कानुनतर्फ सहायक पदमा खुला १ जना र महिला १ जना गरी २ पदका लागि दरखास्त माग गरिएको छ।

  • कति चाहिन्छ योग्यता ?

बैंकले मागेको सहायक निर्देशक पदका लागी अर्थशास्त्र वा वाणिज्यशास्त्र, व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

यसैगरी लेखा।लेखा परीक्षणतर्फको सहायक निर्देशक पदका लागी मान्यता प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्ट संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी परीक्षा उतिर्ण गरेको हुनपर्छ ।

यस्तै वाणिज्य कानुन तर्फको सहायक निर्देशक पदका लागि त्रि.वि. वा मान्यताप्राप्त विश्वविद्यालयबाट वाणिज्य कानुन स्नातकोत्तर उतिर्ण गरेको वा अर्थशास्त्र वाणिज्यशास्त्र व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर परीक्षा उतिर्ण गर्नुका साथै बि.एल उतिर्ण गरेको हुनुपर्नेछ ।

बैंकले मागेको सहायक द्धितिय पदका लागी मान्यता प्राप्त शिक्षण संस्थाबाट १० जोड २ वा सो सरह र कानुनतर्फ भने थप कानुन विषयमा दुई शैक्षिक सत्र भएको माथिल्लो तहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने निर्धारण गरिएको छ ।

  • उमेरहद र दस्तुर

बैंकले मागेको पदहरुमा न्यूनतम १८ वर्षदेखि ३५ वर्षसम्मका योग्य उम्मेदवारले आवेदन दिन सक्नेछन् भने महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। जसअन्तर्गत सहायक निर्देशक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने तोकिएको छ ।

सहायक निर्देशक पदका लागि दरखास्त दिन चाहने उम्मेदवारहरुले खुला समुहका लागि ८०० रुपैयाँ र प्रत्येक थप समावेशी समुहमा सहभागि हुन थप ३०० रुपैयाँ परीक्षा दस्तुर लाग्नेछ ।

यसैगरी सहायक पदमा लागि खुला समुहका ६०० रुपैयाँ तिर्नुपर्नेछ भने प्रत्येक थप समावेशी समुहमा सहभागि हुन थप २०० रुपैयाँ परीक्षा दस्तुर लाग्नेछ ।

  • कार्यक्षमता मूल्याङ्कन र आन्तरिक प्रतियोगिताबाट पनि ५० पदपूर्ति हुने

यसैगरी केन्द्रीय बैंकले खुलासँगै कार्यक्षमता मूल्याङ्कनतर्फ र आन्तरिक प्रतियोगितात्मक परीक्षा मार्फत पनि ५० जना नै कर्मचारी पदपूर्ति गर्ने भएको छ । बैंकले २०७७ असार मसान्तसम्म कार्यक्षमता मूल्याङ्कनतर्फ ३५ जना र आन्तरिक प्रतियोगितात्मक परीक्षा मार्फत १५ जना पदपूर्ति गर्ने उल्लेख गरेको छ ।

कार्यक्षमता मूल्याङ्कनतर्फ निर्देशक पदका लागि ५ जना, उपनिर्देशक पदका लागि १५ जना, सहायक निर्देशकमा ७ जना, प्रधान सहायकमा ७ जना र सहायक पदका लागि १ जना पदपूर्ति गरिन लागेको हो । यस्तै आन्तरिक प्रतियोगितात्मक परीक्षा मार्फत निर्देशक पदका लागि २ जना, उपनिर्देशक पदका लागि ७ जना, प्रधान सहायकमा ५ जना र सहायक पदका लागि १ जना पदपूर्ति हुनेछ ।

कार्यक्षमता मूल्याङ्कन मार्फत पदपूर्तिका लागि २०७७ असारसम्म बढुवाका लागि सम्भाव्य रहेका कर्मचारीहरुबाट पुस २३ गतेभित्र अनलाइन एप्लिकेशन पोर्टल मार्फत आवेदन पेश गर्न आह्वान गरिएको छ । आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति गरिने लिखित परीक्षा लोकसेवा आयोगले लिने जनाइएको छ ।

बैंकका वहालवाला कर्मचारीलाई भने उमेरको हद नलाग्ने जनाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments