एडीबीको १९ करोड डलर ऋण सहायता, विमानस्थल सुधार र बाढी जोखिम न्यूनीकरणमा उपयोग गरिने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
९पुष, २०७७, बिहीबार / Dec 24, 2020 14:14:pm

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई १९ करोड डलर बराबरको सहुलियतपूर्ण ऋण तथा १ करोड डलर बराबरको अनुदान दिने भएको छ ।

बैंकले दक्षिण एशियाली राष्ट्रहरुको विमानस्थल क्षमता विकासका लागि १५ करोड डलर र ४ करोड डलर ऋण सहयोग सहित १ करोड डलर नदी तटीय बाढी जोखिम व्यवस्थापनका लागि अनुदान सहयोग गरेको हो ।

उक्त सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सह सचिव श्रीकृष्ण नेपाल र एशियाली विकास बैंकको तर्फबाट एडीबीका नेपाल आवासीय मिसनको अफिस इन्चार्ज रुडी लुइस हेनरिकस भ्यान डायलले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

विमानस्थल सुधारसम्बन्धी सहायताबाट समानान्तर ट्याक्सी वेस विस्तार, ह्यांगर एप्रोन, त्रिभुवन विमानस्थलको अर्को चरण डिजाइन तथा गौतम बुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणमा खर्च गरिनेछ ।

यसैगरी बाढी जोखिम व्यवस्थापनका प्राप्त ऋण तथा अनुदान बाढी संरक्षण पूर्वाधार, परिस्कृत बाढी पूर्वानुमान तथा रेस्पोन्स प्रणाली र पूवतयारी सुधारका लागि खर्च हुने जनाइएको छ ।

बुधबार हस्ताक्षर भएको ऋण सम्झौता ९० दिनपछि कार्यान्वयनमा आउनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments