ह्यारी र मेघानले आफ्नो सुरक्षा खर्च आफैं व्यहोर्नुः ट्रम्प

0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इङ्ल्यान्डको राजप्रासाद छाडेर स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेघान मार्केलको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले ह्यारी र मेघान क्यानाडाबाट अमेरिकाको लस एन्जलस आइसकेको खबर सार्वजनिक भएसँगै आइतबार ट्वीट गर्दै उक्त विचार सार्वजनिक गरेका हुन्।

उनले ट्वीटमा भनेका छन्, “म बेलायती महारानी र संयुक्त अधिराज्य बेलायतको ठूलो प्रशंसक हुँ। बेलायत छाडेर ह्यारी र मेघान क्यानाडा बस्न थालेको खबर यसअघि आएको थियो। अहिले उनीहरु क्यानाडा छाडेर अमेरिका आएको खबर पाएँ, तर उनीहरुको सुरक्षा खर्च व्यहोर्न अमेरिका तयार छैन। उनीहरुले आफ्नो बन्दोबस्त आफैं गरुन्।”

यसै वर्षको शुरुमा ह्यारी र मेघानले बेलायती राजदरबार परित्याग गरी आफ्नो पद समेत त्याग गरेको घोषणा गरेका थिए। राजदरबार परित्याग गर्ने बेलामा उनीहरुले अमेरिका र बेलायतमा आलोपालो बस्ने बताएका थिए ।

प्रकाशित मिति: १७ चैत २०७६, सोमबार  १८ : ५० बजे