लगानी वातावरण बनाउन र वैदेशिक लगानी भित्त्र्याउने काममा महासंघले सहजीकरण गर्छः वरिष्ठ उपाध्यक्ष ढकाल

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
८माघ, २०७७, बिहीबार / Jan 21, 2021 15:38:pm

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य महासंघले देशमा सानादेखि ठूलो लगानीका लागि वातावरण बनाउन र वैदेशिक लगानी भित्त्र्याउने काममा सहजीकरण गर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को पदस्थापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका वरिष्ठ उपाध्यक्ष ढकालले एक सानो कम्पनीको आईपीओ खुल्दा पनि १०।२० गुणासम्म बढी आवेदन पर्ने गरेको उदाहरण दिँदै वर्तमान महासंघको वर्तमान नेतृत्वले लगानीको वातावरण पनि तयार गर्ने बताएका हुन् ।

मलेसियाले छोटो समयमा विकास गरेका उदाहरणहरू प्रस्तुत गर्दै ढकालले राज्य, निजी क्षेत्रको सहकार्य र साझेदारीमा मात्र दु्रत विकास सम्भव हुने बताए । निजी क्षेत्रको लगानी विस्तार हुँदा देशले पनि छोटै सयममा आर्थिक विकास गर्न सम्भव भएको बताए ।

मलेसीयाली राज्यले निजी क्षेत्रलाई बिना लगानीको पार्टनरका रुपमा लिएकाले राज्यलाई २५÷३० प्रतिशत कर्पोरेट लगायतको कर प्राप्त भएको उनको भनाई थियो ।

ढकालले निजी क्षेत्रलाई राज्यको बिना लगानीको साझेदारका रुपमा लिन आग्रह गर्दै नेपालमा पनि पुँजी तथा लगानीको समस्या नभई लगानीमैत्री वातावरणको समस्या रहेको औँल्याए । जनतासँग धेरै पूँजी भएको र त्यसलाई एकिकृत गर्नुका साथै लगानीको वातावरण पनि तयार गर्नुपर्नेमा उनको जोड थियो ।

ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले भने ‘जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन र निजी क्षेत्रका समस्याहरुको सम्बोधनका लागि तत्पर हुँदैन, तबसम्म मुलुकमा सही रुपमा व्यावसायिक वातावरण बन्न सक्दैन ।’

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments