वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
९माघ, २०७७, शुक्रबार / Jan 22, 2021 16:54:pm

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।

अविश्वास प्रस्तावका हस्ताक्षरकर्तामध्ये एक नम्बर हस्ताक्षरकर्ता अरुण नेपालले आजको प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव पेश गरेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

वाग्मती सरकारमा रहेका पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव कुमार नेपाल खेमाका तीनजना मन्त्रीले पुस १० गते शुक्रबार राजीनामा दिँदै ४५ जना प्रदेशसभाका सांसदले हस्ताक्षर गरी मुख्यमन्त्री पौडेलविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रचण्ड–नेपाल पक्षीय नेताहरुले वाग्ग्मती प्रदेशको नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ । अविश्वासको प्रस्तावमा शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।

कुल ११० सांसद रहेको प्रदेश सभामा नेकपाको ८० सांसद छन्। जसमध्ये प्रचण्ड नेपाल पक्षमा ४६ जना र प्रधानमन्त्री केपी ओलीतर्फ ३४ जना सांसद छन् । यसैगरी नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपा र राप्रपाका २।२ तथा स्वतन्त्रका १ जना सांसद छन् । यस्तो अवस्थामा यस्तो अवस्थामा मुख्यमन्त्री पौडेललाई हटाउने कि राख्ने भन्ने निर्णायक मत कांग्रेसको हुने देखिएको छ । कांग्रेसको मत नपाई पौडेललाई हटाउन नसकिने देखिएकाले कांग्रसले कसलाई साथ दिन्छ त्यसले आगामी मार्गचित्र तय हुने भएको छ ।

संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्तासँगै प्रदेश सरकारमा सहभागि प्रदेशका तीन मन्त्रीहरु आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, उद्येग पर्यटन बन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, र सामाजिक विकास मन्त्री युवराज दुलालले पदबाट राजीनामा दिएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments